Paschim Express
अमेरिकाको लोभ देखाएर डडेल्धुराका मालीले  ‘नक्कली’ बिहे गरेपछि...

कञ्चनपुर । कञ्चनपुरमा सामाजिक सञ्जाल फेसबुकबाट युवतीलाई प्रेमजालमा पारेर अमेरिकाको भिजाको प्रलोभजन देखाएर नक्कली विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णु प्रसाद माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले उनीहरु दुवै जनालाई २५ मंसिरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनकाअनुसार ठकुल्ला थरकी युवतीलाई सामाजिक सञ्जाल फेसबुकबाट प्रेममा पारेर ३१ वर्षीय मालीले २३ मंसिरमा महेन्द्रनगरमा विवाह गरेका थिए ।

नातामा मालीका भिनाजु पर्ने धामीले उनीहरुको विवाह गराउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । तर अमेरिकाको भिजा लागेको र आफू इन्जिनियर भएको बताउँदै विवाह गरेका माली सहचालक र घरमा श्रीमती रहेको थाहा पाएपछि पीडित युवतीका परिवारले उनीविरुद्ध बहुविवाहको मुद्दा दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरकी ३१ वर्षीया ठकुल्ला थरकी युवतीबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएकाे थियाे । पेशाले सहचालक रहेका मालीले युवतीलाई प्रेम गर्ने भन्दै फकाएका थिए ।

उनले आफू पेशाले इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेकाले चाडो विवाह गर्न दबाब दिएका थिए । करीब तीन महिनादेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न युवती तयार भएकी थिइन् ।

घरमा श्रीमती भएका कारण उनले यो कुरा परिवारका सदस्यलाई जानकारी गराउने कुरा थिएनन् । त्यसैले उनले बुवा आमासहित परिवारका अन्य सदस्य पनि नक्कली खडा गर्छन् । भिनाजु नाता पर्ने धामीलाई युवतीको परिवारसँग भेट गराएर हात माग्न पठाउँछन् । सो क्रममा धामीले पनि माली इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेकाले केही दिनमा उड्ने बताउँछन् । विवाह गरेर दुलहीलाई पनि उतै लैजाने बताएपछि युवतीका आमाबुवा पनि तयार हुन्छन् ।

कुनै पनि सदस्यलाई जानकारी नदिएर युवती २३ मंसिरमा महेन्द्रनगरको चेतन होटलमा आफ्नो विवाह सम्पन्न गर्छन् । विवाह सकेर दुलहीलाई लिएर धनगढी आएका माली २५ मंसिरमा डडेल्धुरा जादै थिए ।

तर युवती पक्षले सामाजिक सञ्जाल फेसबुक र टिकटमा दुवै जनाको विवाहका भिडियो अपलोड गर्दै बधाई दिइरहेका थिए । टिकटकमा सार्वजनिक भएको भिडियो मालीकी श्रीमतीसम्म पुग्छ । प्रहरीकाअनुसार उनकी श्रीमतीले टिकटकमै मालीको श्रीमती आफू भएको बताउँछिन् ।

मालीको पहिलो श्रीमती टिकटकमा आएपछि दोस्रो श्रीमतीका परिवारका सदस्यहरू अच्चममा पर्छन् । सोधीखोजी गर्दा माली साँच्चिकै विवाह भएको थाहा पाएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले मालीलाई डोटीको बुडरबाट पक्राउ गरेको थियो ।

 माली र धामीविरुद्ध बहुविवाह मुद्दा दर्ता गरेर अदालतबाट दोस्रोपटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update