Paschim Express
बैतडीमा पासो चुँडालेर भाग्यो चितुवा, त्रासमा स्थानीय

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा चितुवाको त्रास बढेको छ । पासोमा परेको चितुवा पासो चुँडालेर भागेपछि स्थानीयहरु चितुवाले आक्रमण गर्न सक्ने भन्दै त्रसित बनेका हुन् । 

दशरथचन्द नगरपालिका –२ देहीमाण्डौं कुमालीगाडमा सोमबार रातिको समयमा चितुवा पासोमा फसेको थियो । बालीनाली जोगाउन जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको स्थानीयहरुले बताएका छन् । 

सोमबार राति फलामको तारको पासोमा फसेको चितुवा समयमै उद्धार हुन नसक्दा पासो चुँडालेर भागेको छ ।  उक्त चितुवाको घाँटीमा ठूलो घाउ भएकाले घाइते चितुवाले आक्रमण गर्न सक्ने भन्दै स्थानीयहरुमा त्रास बढेको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको उद्धार टोली ढिलो आएका कारण चितुवा भागेको स्थानीय मनोज बोहराले बताए ।

पासोमा परेर घाइते भएको चितुवा भागेकाले स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update