डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकामा विगत ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । जसकाकारण विकास निर्माण योजनाका काम अलपत्र परेका छन् । बैठक नबसेकै कारण सडकका लागि आएको बजेटसमेत फिर्ता जानेसम्मको अवस्था सृजना भएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित भएका हेमराज चटौत उक्त गाउँपालिकका अध्यक्ष छन् । यस्तै एक वडाअध्यक्षबाहेक गाउँपालिकामा सबै जनप्रतिनिधी पनि कांग्रेसबाटै निर्वाचित भएका थिए । तर, कांग्रेसका जिल्ला सचिवसमेत रहेका चटौतको कार्यकाल असफल बनाउन कांग्रेसबाटै निर्वाचित भएका वडाअध्यक्षहरु लागिपरेको बुझिएको छ ।
भागेश्वर गाउँपालिकामा भदौंसम्म खगेन्द्र भारती प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । उनको सरुवा भएपछि त्यहाँ बैतडीको सुर्नया गाउँपालिकाबाट सरुवा भएर हर्ष रोका प्रशासकीय अधिकृतको रुपमा उपस्थित भए ।
हाल देशभरका केही स्थानीय तहमा प्रशासकीय अधिकृत पाउनै समस्या भएका बेला गाउँपालिका अध्यक्ष चटौतले विभिन्न प्रयास गरेर रोकालाई गाउँपालिकामा ल्याउन सफल भएका थिए । तर, तीनजना वडाअध्यक्षले रोकाको सरुवा माग्दै बैठक बस्न नदिने गरेको बुझिएको छ ।
त्यसमा पूर्व हाकिम खगेन्द्र भारतीको प्रमुख भूमिका रहेको स्रोत बताउँछ । ‘खगेन्द्रजी गाउँपालिका छाडेपनि हाल आएका हाकिम सापको सरुवा गरेर आफै आउन खोजिरहेका छन् । त्यसका लागि उनले केही वडाअध्यक्षलाई उस्काउने काम गरिरहेका छन्’ एक वडाअध्यक्ष भन्छन्, ‘उनकै भनाईमा लागेर ती वडाअध्यक्षहरुले बैठक नै बस्न दिइरहेका छैनन् । अहिले ती विरोध गर्ने वडाअध्यक्षहरु हालका हाकिमको सरुवा गर्न कांग्रेसका केन्द्रिय पार्टी सभापतिको निवासदेखि मन्त्रालय धाइरहेको बुझिएको छ ।’
उनका अनुसार खगेन्द्रको केही स्वास्र्थ भएकै कारण उनले वडाअध्यक्षहरुलाई उस्काइरहेको चर्चा गाउँपालिकाभर चलेको छ ।
तर भारती भने यो आरोप स्विकार्न तयार छैनन् । उनले गाउँपालिका फर्किने आफ्नो कुनै इच्छा नभएको र वडाध्यक्षहरुलाई पनि आफूले नउस्काएको बताए ।
कार्यपालिका बैठक बस्न नसक्दा विभिन्न योजनाहरु अलपत्र पर्दा बजेटसमेत फिर्ता जाने अवस्था आएको गाउँपालिका स्रोतले बताएको छ ।
वडाअध्यक्षहरुको लहडले बैठक बस्न नसक्दा स्थानीयसमेत रुष्ट बनेका छन् । उनीहरुले विकासका काम ठप्प पार्नेगरी आन्दोलित भएका वडाअध्यक्षहरुको कार्यशैली ठिक नभएको बताएका छन् । ‘हाकिम सरुवा नहुँदासम्म हामी बैठक बस्दैनौ भनेर लागिरहेका छन् । तर यताको विकास त ठप्प भयो नि’ एक स्थानीयले भने ।
अहिले बैठक बस्न नदिने वडाअध्यक्षहरुका वडा नम्बर ३ का अध्यक्ष डम्बरराज जोशी, २ का अध्यक्ष उपेन्द्र जोरा र ५ का अध्यक्ष नरेन्द्र थापामगरको नाम अगाडि आएको छ । सरुवाका लागि सामान्य प्रशासन मन्त्रालय धाएका उनीहरुलाई सचिवलेसमेत प्रकाशकीय अधिकृत गएको तीन महिनामै सरुवा माग्नु जायज नभएको भन्दै जवाफ फर्काएको स्रोत बताउँछ ।
‘अहिले देशभरका पालिकामा प्रशासकीय अधिकृत पाउन समस्या भएको बेला नयाँ आएका हाकिमको तीन महिनामै सरुवा कसरी हुन्छ ? भखरै त नियुक्ति लगेर जानुभएको हो । उतिबेला बोलाउने अहिले पठाइदिनु भन्नुहुन्छ । त्यो कसरी हुन्छ’ ती सचिवको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
यसबारे नयाँ हाकिमको सरुवा गर्न चाहने वडाअध्यक्षको नेतृत्व गरिरहेका डम्बरराज जोशीसँग प्रतिक्रिया माग्न बारम्बार फोन सम्पर्क गर्दा उनी बोल्न चाहेनन् । कहिले ‘पछि फोन गर्छु’ त कहिले ‘गाडीमा छु’ भन्दै उनले प्रतिक्रिया नै दिन चाहेनन् । यस्तै अर्का वडाध्यक्ष उपेन्द्र जोरालाई सम्पर्क गर्दा पनि उनले ‘पछि गर्छु’ भन्दै फोन काटे ।
उता गाउँपालिका अध्यक्ष हेमराज चटौतले कार्यपालिका बैठक बस्न नसकेको स्वीकार गरेका छन् । तर, सम्झौता गर्नेदेखि अन्य काम भने नरोकिएको उनले बताए ।
हाल बाजुराकोे खप्तड छेडेदह गाउँपालिका, कालीकोट खाडाचक्र नगरपालिकासहित देशभरका २४९ स्थानीय तहमा प्रमुख प्रशासकी अधिकृत छैनन् । देशभरका ७५३ मध्ये १० स्थानीय तहमा त निमित्त प्रकाशसीय अधिकृत नै छैनन् ।
यस्तोमा विभिन्न प्रयास गरेर भागेश्वर गाउँपालिकाका अध्यक्ष चटौतसहितका जनप्रतिनिधिले बल्लतल्ल प्रमुख प्रकाशकीय अधिकृत लगेका थिए । तर, केही वडाअध्यक्षहरु भने आएका हामिकको पनि सरुवा गर्न सिंहदरबरमा लबिङ गर्न लागिपरेका छन् ।