कैलाली । कैलालीमा बोक्सी लागेको आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै निर्घात कुटपिट गरेको अभियोगमा गुरुवासहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए।
उनकाअनुसार २८ वर्षीया महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरेको किटानी जाहेरी परेपछि चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।
किटानी जाहेरी दिइएका मध्ये दुई जना फरार रहेकाले उनीहरुको खोजी जारी छ। पक्राउ परेका मध्ये मनोज चौधरी गुरुवा भएको प्रहरीको भनाई छ । बोक्सीको आरोपमा ४ पुसमा कुटपिटमा परेकी महिलाको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।