Paschim Express
कैलालीकाे गोदावरीमा औषधि तथा स्वास्थ्य सामग्री भण्डारण गर्न अत्याधुनिक भवन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औषधि तथा स्वास्थ्य सामग्री भण्डारणको अत्याधुनिक भवन (वेयर हाउस) को उद्घाटन गरेका छन् ।

प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका १ बिजौरामा ग्लोबल फण्ड अन्तर्गत सेभ द चिल्ड्रेनले भवन र उपकरणसहित ४ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण गरेको हो ।

उद्घाटन समाराेहमा सेभ द चिल्ड्रेनले २८ लाख बराबरकाे उपकरणसमेत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेकाे छ ।

मुख्यमन्त्री शाहले पहिलो कार्यकालमा २०८० चैत्रमा शिलान्यास गरेको उक्त वेयर हाउस निर्माण सम्पन्नपश्चात सेभ द चिल्ड्रेनले सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेकाे थियाे ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहले सीमित श्राेत र साधन भए पनि स्वास्थ्यलाई प्राथमिकता दिइएकाे र बिकास साझेदार संस्थाले गरिरहेको सहयाेगले संघीयता अगाडि बढाउनमा सहयाेग पुगिरहेकाे बताए । उनले भने, ‘स्वास्थ्य उपकरण सामाग्रीकाे आवश्यकता र औचित्यका आधारमा बितरण गर्नुपर्छ ।’

त्यसैगरी, सामाजिक विकास मन्त्री मेघराज खड्काले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा एउटा इँट्टा थपिएकाे बताए ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update