डडेल्धुरा । ‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्याउने जिम्मा तिमीलाई दिइयोस् अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी मैले हजुरको मान्छे बचाउन सकिनँ तब तिमीलाई मेरो मायाको आभास हुनेछ,’ लेख्दै भिडियो पोष्ट गरेका मार्तडी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक धर्म खत्रीले अन्ततः उनले भने जस्तै गरि मृत्युवरण गर्न पुगे ।
दुईदिनअघि सामाजिक सञ्जाल टिकटकमा मोटरसाइकलमा चढेको भिडियो राख्दै उनले उक्त भिडियो सार्वजनिक गरेका थिए ।
कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै ६ लेन सडकखण्डमा सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुपप्र ०१२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का खत्रीको मृत्यु भएको हो । मृतक खत्री तालिमको लागि ९ गते धनगढी पुगेका थिए ।
खत्रीले सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकलको चलाएका थिए । गम्भीर अवस्थामा रहेका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
उक्त मोटरसाइकलको पछाडि सवार डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
पछाडिबाट ठक्कर दिने अर्को मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शाहलाई दुर्घटनामा परेका दुवै मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।