
बैतडी । बैतडीको डिलासैनी गाउँपालिका– २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको शंकास्पद मृत्यु भएको छ ।
बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी –३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्शको बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्त धुव्र रानाले बताए ।
नियमित खोप कार्यक्रम अन्तरगत आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोस्रो डोज र पिसिभीको पहिलो डोज लगाइएको थियो । त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि ज्वरो आएको र राति ¥याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो । त्यहाँ उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा उनक बाटोमैो मृत्यु भएको थियो ।
सोही विवरणका डोजहरु अघिल्लो दिन पनि केही बालबालिकाहरुलाई लगाइएको र केही समस्या नआएको तर, आदर्शको हकमा उक्त घटना भएको विषय शंस्कास्पद रहेको आफन्तको भनाई छ । खोपका कारणले बालकको मृत्यु भएको भन्दै स्थानीयहरुले स्वास्थ्य कार्यालय बैतडीमा पनि जानकारी गराएका छन् ।
आदर्शको शंकास्पद मृत्यु भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए । स्थानीयले आन्दोलित हुँदै बिहीबार बिहानैदेखि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड ठप्प पारेका थिए । घटनाको विषयमा सबै पक्षबाट अनुसन्धान गरिने र पालिकाको तर्फबाट उचित क्षतिपूर्ती दिने विषयमा सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।
गाउँपालिकाले ५ लाख क्षतिपूर्ती र थप किरिया खर्च उपलब्ध गराउने सहमति जुटेको स्थानीय धुव्र रानाले बताए । यसैगरी शवको पोष्टमाटम गरी छानबिन गरिने सहमति भएको छ । सहमति जुटेपछि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड पनि खुलेको छ । मृतक बालकको पोष्टमाटम गर्न शवलाई गोकुलेश्वर अस्पतालतर्फ लगिएको छ ।
शिशुको के कति कारणले मृत्यु भयो भनेर पोष्टमाटम गरेपछि मात्रै खुल्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले बताए । उनले भने, ‘खोपकै कारण शिशुको मृत्यु भएको भन्न सकिन्न । ९९ प्रतिशत खोप विश्वशनीय हुन्छ । शव परीक्षणपश्चात सबैकुरा थाहा होला।’
घटनाबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोली आउने सूचना अधिकारी लेखकले बताउए । ‘हामीले घटनाबारे माथि जानकारी गराइसकेका छौं, अनसन्धानका लागि डब्ल्यूएचओको टोली आउने कुरा छ’ उनले भने ।