Paschim Express
'हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि समन्वय गरेर विपीनको खोजी भइरहेको छ'


काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजबिनका लागि हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि समन्वय भइरहेको बताएका छन् । सोमबार सुदूरपश्चिम पत्रकार समाजले राजधानीमा आयोजना गरेको दसैँ, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनले उचित समन्वय गरेर हराइरहेका विद्यार्थीको खोज्ने काम सरकारले तीव्रताका साथ गरिरहेको बताए । 

‘‘हराएका विद्यार्थीका बारेमा इजरायल सरकारसँग पनि र इजरायलबाहेकका अरू खाडीका सरकारहरू, जसको हमास समूहसँग पनि सम्बन्ध छ भन्ने गरिन्छ । ती सरकारसँग उचित समन्वय गरेर खोज्ने काम सरकारले तीव्रताका साथ गरिरहेको छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक ठाउँमा कुराकानी भइरहेको छ ।’ 


हमास समूहले असोज १९ मा दक्षिण इजरायलमा आक्रमण गर्दा सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत रही इजरायलमा रहेका १० विद्यार्थीको ज्यान गएको थियो । सोही विश्वविद्यालयका विद्यार्थी कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी हमासको नियन्त्रणमा रहेको बताइए पनि उनको अवस्था अज्ञात छ । 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update