Paschim Express
डडेल्धुराको अजयमेरु गाउँपालिकामा युवाहरुले लगाए ताला

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकामा युवाहरुले ताला लगाएका छन् । गाउँपालिकाको कार्यालयसंगै अध्यक्ष उमेशप्रसाद भट्ट, उपाध्यक्ष बसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेठीको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीहरुले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकास नहुँदा गाउँपालिकावासीलाई समस्या भएकोले तालाबन्दी गरिएको स्थानीय युवा सुनिल ठकुराठीले जानकारी दिए । ‘निमित्तको जिम्मेवारी दिने र प्रमुख प्रशासकी अधिकृत ल्याउने विषयमा पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएपछि तालाबन्दी गरेका हौं,’ उनले भने । 

विगतदेखि नै अजयमेरु गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेशलाई लत्याएको पाइएको छ । गत असार २४ गते मन्त्रालयले प्रमुख प्रकासकीय अधिकृत नभएका स्थानीय तहमा निमित्त तोक्दा ‘वरिष्ठ’ कर्मचारीलाई जिम्मेवारी दिनू भन्दै परिपत्र गरेको थियो ।

परिपत्रको बुँदा नम्बर (क) मा भनिएको छ, ‘स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने विषयमा एकरुपता कायम गर्न आवश्यक र जरुरी देखिन्छ । तसर्थ यस विषयको व्यवस्थापनका लागि मार्गदर्शक कानूनको रुपमा रहेको निजामती सेवा ऐन, २०४९ तथा ऐ. नियमावली, २०५० को नियम ४६ मा रहेको व्यवस्था बमोजिम स्थानीय तहमा कार्यरत स्थायी कर्मचारी मध्येबाट बरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने व्यवस्था अनिवार्य रुपमा मिलाउनु हुन ।’

तर, अजयमेरुमा भने गाउँपालिका जुनिएर शिक्षा शाखा अधिकृत लालबहादुर सेठीलाई जिम्मेवारी दिँदा कर्मचारीहरुले तनाव भोग्नुपरेको छ । गाउँपालिकामा उनीभन्दा वरिष्ठ चार जना छैठौं तहका अधिकृत छन् । सेठीलाई गत वर्ष निमित्त तोकिएको थियो । असारमा मन्त्रालयबाट आएको पत्रपछि गाउँपालिकाले उनको स्थानमा वरिष्ठ कर्मचारीलाई निमित्त तोक्नुपर्ने थियो । त्यो बारेमा विभिन्न समयमा कार्यपालिकामा समेत कुरा उठेको थियो । तर, उनै सेठीलाई निमित्त मानिदै आइएको छ । 

२४ असारपछि पूराना निर्णय स्वत निष्कृय हुने जनाइएको थियो । तर, नियमसंगत निमित्त नतोकिँदा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले असारपछि तलब नै पाएका छैनन् । सामाजिक सुरक्षा भत्तासमेत निकास नहुँदा गाउँपालिकावासीलाई समस्या भइरहेको छ । गाउँपालिका अध्यक्ष भट्टले भने ३ कात्तिकभन्दा पहिले कर्मचारीले तलब पाउने दाबी गरे । ‘असैं बिदाभन्दा अगाडि नै सामाजिक सुरक्षा भत्ता पनि निकासा हुन्छ,’ उनले भने । 

No description available.

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update