Paschim Express
पत्रकारलाई सिडिओले दिए धम्की, महासंघको ध्यानाकर्षण

धनगढी । समाचार प्रकाशनको विषयमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यनाकर्षण भएको जनाएको छ । डडेल्धुराबाट सञ्चालित सिमाना न्युज डटकमले मंगलबार सीडीओ न्यौपानेको विषयमा समाचार प्रकाशित गरेको थियो । 

सोही विषयमा सिडिओ न्यौपानेले समाचार हटाउन लिखित निर्देशन दिएको भन्दै पत्रकार महासंघ केन्द्रीय समिति, सुदूरपश्चिम प्रदेश समिति र जिल्ला समितिले विज्ञप्ति जारी गरेर उनको कदमको बिरोध गरेका छन् । 
'प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारीजस्तो जिम्मेवार व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको यो हर्कत अन्यन्त निन्दनीय छ, यो कदमलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको ज्यादतीका रूपमा लिएको छ,’ पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।  

यस्तै पत्रकार महासंघ सुदूरपश्चिमका प्रदेशमा महासचिव शिवराज भट्टले सिडियोको कदमलाई नेपालको संविधान २०७२ ले दिएको पूर्ण प्रेस स्वतन्त्रताको हक विपरित भनेका छन् । 

यस्तै पत्रकार महासंघ डडेल्धुराले पनि समाचार प्रकाशनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय डडेल्धुराको लेटरहेडमै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले समाचार हटाउन गरिएको लिखित आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update