डडेल्धुरा । उच्च शिक्षा अध्ययनपछि मात्रै विवाह गर्ने योजना बनाएका उनको परिवारको दबाबका कारण २०५३ मंसिरमै विवाह भयो । विवाहको खुसी सकिएको थिएन्, उनको परिवार शोकमा डुब्यो । मंसिरकै महिनामा बुवाको निधन भयो । त्यसपछि २०५६ सालमा उनी विवाह गर्दा लागेको ऋण तिर्न भारतको मुम्बई हानिए ।
उनी अर्थात डडेल्धुराको अमरगढी नगरपालिक–७ का हर्कबहादुर कैनी । २०३३ सालमा जन्मेका हर्कबहादुरले पोखरमा रहेको उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए ।
०५६ सालमा विवाह गर्दा लागेको ऋण तिर्न मुम्बइ पुगेका उनले एक निजी कार्यालयमा चिया पकाउने काम सुरु गरेका थिए । सोही क्रममा विज्ञापन र सिरियल छायाङक गर्ने कम्पनीसँग जोडिने अवसर पाए उनले । अनि चिया पकाउने काम छोडेर नयाँ कामतर्फ लागे, तर बिना तलब ।
‘५ महिनासम्म काम सिकेपछि कम्पनीले तलब दिन सुरु गर्यो,’ उनले भने, ‘प्राविधिक रूपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरू मिलाउने काम थियो मेरो । सोही समयमा अडियो भिडियोको दुई वर्षीय अफलाइन कोर्स उत्तिर्ण गरेको थिए ।’ आफ्नो काममा पोख्त हुन थालेपछि सन २००३ पछि भारतभित्र मात्र होइन विदेश जाने अवसरसमेत पाउन थाले हर्कबहादुर ।
‘विभिन्न इभेन्टहरूको प्रत्यक्ष प्रसारण गर्ने क्रममा इंगल्याण्ड, मलेसिया, सिंगापुर, मकाउ, श्रीलंका, बंगलादेश, दुबई, साउथ अफ्रिका, वेस्ट इण्डिज, क्यानडाजस्ता थुप्रै देश पुगिसकेको थिएँ,’ उनले अगाडि थपे, ‘अहिले त दर्जर्नाै देशमा गएर टेलिभिजनमा इभेन्टहरू देखाइरहेको छु ।’
अहिले भारतमा ओडिआई विश्वकप जारी छ । उक्त विश्वकपलाई टेलिभिजनमा देखाउने पर्दा पछाडिका काममा सक्रिय छन् हर्कबहादुर । विश्वकपलाई टेलिभिजनमा आकर्षक बनाएर देखाउँने काम हो हर्कबहादुरको । हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शकसामु पुर्याउने प्राविधिक टोलीमा कार्यरत छन् उनी ।
भिजन इन्जिनियर हर्कबहादुरले कक्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन् । उनले भने, ‘२००८ देखि भारतमा आइपीएल सुरु भयो । आइपीएलमा २००९ देखि नै काम गर्न थालेको हुँ । यो वर्ष विश्वकपको प्रत्यक्ष प्रसारणको टोलीमा छु ।’
उनीसँग आइपीएल, २० र ५० ओभरको विश्वकप क्रिकेट, एसियन गेम, इन्डियन सुपर लिग फुटवल, प्रो कवड्डी, बहुचर्चित आइफा अवार्ड, विग बोस, इन्डियन आइडल लगायतका विभिन्न इभेन्टस्को प्राविधिक टोलीमा रहेको अनुभव छ ।