Paschim Express
बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित ४ जनाको मृत्यु

बझाङ । बझाङको तलकोट गाउँपालिकास्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका तीन जनासहित चारको मृत्यु भएको छ ।

दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमबहादुरकी छोरी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको छ । बमबहादुरकी छोरीको भने उद्धार गरेर थप उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा उतै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको हो । 

जीप झन्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ००:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update