Paschim Express
१९ दिनमा नेपालमा ९ पटक भूकम्पको धक्का महसुस,  सुदूरपश्चिममा मात्रै ५ पटक

डडेल्धुरा । आज(शुक्रबार)  बिहान ८ बजेर ३ मिनेट जाँदा मुगुमा भूकम्प गयो । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर ४.४ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । दिउँसो १ बजेर २ मिनेट जाँदा माझिटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

यस्तै यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो । मंगलबार ७ः५४ बजे बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पुसको १९ गतेसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ९ वटा भूकम्प गएका छन् । त्यसमा पनि पश्चिम नेपाल बढीपटक हल्लिएको छ । सुदूरपश्चिम प्रदेशका जिल्ला केन्द्रविन्दु बनाएर ५ पटक भूकम्प गएको छ । यसरी लगातार गएका भूकम्प विगतका भूकम्पको पराकम्प भएको भूकम्पविद्को भनाइ छ ।

bhukamp-1735880190.png
 

गत वर्ष जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालका अहिलेका भूकम्प जाजरकोट, बझाङ, गोरखाका लगायत क्षेत्रमा गएको भूकम्पको पराकम्प भएको खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाले बताइन् ।

पश्चिम नेपालमा पाँच सय वर्ष यता ठूलो भूकम्प गएको छैन । त्यसको मतलब त्यहाँको जमिनमुनि ठूलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको उनले बताइन् । 

तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने मुस्ताङमा उक्त भूकम्प गएपछि मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा ठूलो भूकम्प जान सकेको छैन । शक्ति सञ्चितिलाई आधार मान्ने हो भने उक्त क्षेत्रमा ८ म्याग्निच्यूड बराबरको भूकम्प निम्त्याउन सक्ने शक्ति सिञ्चित भइसकेको छ । यसले गर्दा पनि पश्चिम नेपालमा ४ देखि ६ म्याग्निच्यूडका भूकम्प जानु स्वाभाविक रहेको झाको भनाइ छ ।

तर, भूकम्पविद् डा शिव सुवेदी भने पश्चिम नेपालमा पटक–पटक भूकम्प जानु सामान्य रहेको  बताउँछन् । उनले यसबाट जोगिनका लागि सतर्कता भने अपनाउन आग्रह गरिन् । ‘भूकम्प जतिबेला पनि जान्छ म र मेरो परिवारलाई बचाउन यसो यसो गर्छु भनेर सोच्नु प–यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुप¥यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ’ उनले भनिन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update