Paschim Express
अजयमेरुमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ओझालाई

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जितेन्द्र ओझाले पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत रहेका ओझालाई अजयमेरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । मन्त्रालयको अतिरिक्त समूहमा  दरबन्दी कायम रहने गरी अजयमेरुमा कामकाज गर्न खटाइएको हो । 

ओझालाई मन्त्रालयले असोज १९ गते नै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित कामकाजका लागि खटाएकोमा जिल्ला प्रशासन कार्यालयले मंगरबारसम्म रमाना दिएको थिएन ।

‘चारजना सिनियर कर्मचारी भए पनि अजयमेरुमा भने गाउँपालिकाका जुनिएर शिक्षा शाखा अधिकृत लालबहादुर सेठीलाई निमित्तको जिम्मेवारी तोकिएको थियो,’ एक जनप्रतिनिधिले भने, ‘सेठीबाटै काम चलाउनका लागि ओझाको रमाना १० दिनदेखि रोकिएको थियो । आज पालिकाका बासिन्दा आन्दोलित भएपछि प्रशासनले रमाना दिएको छ ।’

आज रमाना बुझेको बताउँदै ओझाले गाउँपालिकामा हाजिर हुने बताएका छन् । विगतदेखि नै अजयमेरु गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेशलाई लत्याएको थियो । गत असार २४ गते मन्त्रालयले प्रमुख प्रकासकीय अधिकृत नभएका स्थानीय तहमा निमित्त तोक्दा ‘वरिष्ठ’ कर्मचारीलाई जिम्मेवारी दिनू भन्दै परिपत्र गरेको थियो ।

तर, अजयमेरुमा भने गाउँपालिका जुनिएर शिक्षा शाखा अधिकृत सेठीलाई जिम्मेवारी दिइएको थियो । सेठीलाई गत वर्ष निमित्त तोकिएको थियो । असारमा मन्त्रालयबाट आएको पत्रपछि गाउँपालिकाले उनको स्थानमा वरिष्ठ कर्मचारीलाई निमित्त तोक्नुपर्ने थियो । 

२४ असारपछि पूराना निर्णय स्वत निष्कृय हुने जनाइएको थियो । तर, नियमसंगत निमित्त नतोकिँदा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले असारपछि तलब नै पाएका थिएनन् ।

सामाजिक सुरक्षा भत्तासमेत निकासा नहुँदा गाउँपालिकावासीलाई समस्या भइरहेको थियो । कर्मचारीहरुले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकास नहुँदा गाउँपालिकावासीलाई समस्या भएकोले स्थानीय युवाले आज पालिकामा तालाबन्दी गरेका थिए । 

पालिकाको समस्या समाधानको माग गर्दै आज वडा नम्बर ६ का अध्यक्ष हरि भण्डारी, नेपाली कांग्रेस अजयमेरुका सभापति टेकराज पाण्डेय लगायत जिल्ला प्रशासन पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update