धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निशुल्क उपलब्ध गराउने निर्णय लागू गरेको छ । आइतबारदेखि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सबै सरकारी अस्पतालमा निशुल्क रगत सेवाको सुरुवात गरेका हुन् ।
मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्त रोशन चौधरीलाई निशुल्क रगत हस्तान्तण गर्दै उक्त सेवाको सुरुवात गरिएको हो ।
सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा शाखा प्रमुख डा. चेतराज जोशीका अनुसार प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको छ ।
रेडक्रसले निशुल्क रगत उपलब्ध गराएबापत सुदूरपश्चिम सरकारले एक हजार एक सय ५० रुपैयाँप्रति पिन्ट रक्त सञ्चार केन्द्रलाई दिने सम्झौतामा उल्लेख गरेकाे उनले बताए ।