
काठमाडौं । आज बिहान ६.५० बजे आएको शक्तिशाली भूकम्पका कारण चीनमा ५३ जनाको मृत्यु भएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पका कारण चीनमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।
चिनियाँ राष्ट्रपति सी जीङपीङले भूकम्प प्रभावितको तत्काल उद्धार र राहत गर्न निर्देशन दिएको सिन्ह्वाले जनाएको छ । त्यस्तै चिनियाँ सेनाले ड्रोनको सहयोग लिएर प्रभावितको आँकडा संकलन गरिरहेको रिपोर्टमा उल्लेख छ ।
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपाल सहित भारतसम्म महसुस गरिएको थियो ।
दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको क्षेत्र हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी नेपालका जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको धक्का २० देखि ३० सेकेन्डसम्म महसुस गरिएको थियो ।
भूकम्प जाँदा यसको धक्का नेपालकाे कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ ।
शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने यकिन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको जानकारी दिए ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको जानकारी दिए । “स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ,” उनले भने ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताए । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उनले जानकारी दिए ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिए । भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताए । उनले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिए ।