
काठमाडाैं । आज गएको भूकम्पका कारण सोलुखुम्बुकाे थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ। क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।
यता काठमाडौँको स्युचाटारमा भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हामफाल्दा एक जना घाइते भएका छन् । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन ।
त्यस्तै, बाराको कलैया उपमहानगरपालिका-१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको मन्त्रालयले जनाएको छ । उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेका छन् ।
मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो ।