Paschim Express
गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न  चिकित्सक पठाइने

कैलाली । कैलालीको गेटामा तीन सय शैयाकाे अस्पताल सञ्चालन गर्न छात्रवृतिका चिकित्सक पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ अर्ब ६२ करोडमा निर्माण गरेको भौतिक संरचनाहरुमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल ५० शैयाको अस्पताल सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्तिका १० जना चिकित्सकहरू र २० जना नर्सिङ्ग कर्मचारीहरू सहित प्राविधिकहरूलाई गेटा पठाएर भए पनि तीन सय शैयाको अस्पताल सञ्चालन गर्ने दाबी गरिएको हो ।

मंगलबार बिहान स्थलगत अनुगमनका क्रममा गेटा पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गेटाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयारी थालिएको बताए ।

तर, नेपाल सरकारको ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र खर्च हुने देखिएको मन्त्री पौडेलले बताए। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को काम हुँदै गर्ने र नेपाल सरकारबाट छात्रवृत्तिमा अध्ययन गरेका १० जना चिकित्सक तथा २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकहरूलाई चाँडै गेटा पठाउने मन्त्री पौडेले बताएका छन् ।

उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विश्व विद्यालयको प्रक्रियामा छ। विश्व विद्यालयको काम रोकिने होइन । गेटामा तीन सय शैयाको अस्पताल सञ्चालन गरौ । एमबिबिएसको अध्यापन सुरु गरौं । आयोगले पनि यसैमा काम गरोस् ।’

कैलालीको गेटामा आकस्मिक सेवा सहितको २४ घण्टा स्वास्थ्य उपचार सेवा दिन मन्त्रीले निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रादेशिक अस्पताल, सेतीले बिरामीको चाप धान्न नसकेका कारण गेटालाई बलियो बनाउनुपर्ने मन्त्रीको तर्क छ ।

गेटामा आकस्मिक सहितको ओपिडी, प्रयोगशाला, एक्सरे, बहिरङ्ग सेवाहरू सञ्चालनमा रहेका छन् । तर, मन्त्री पौडेलले रातिको समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचराीहरू गेटामा बस्ने नगरेको गुनासो आएको बताउँदै त्यसकाे व्यवस्थापन गर्न निर्देशन दिए ।

यसैबीच गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाइएको छ । विश्वविद्यालय सञ्चालनार्थ गठित सङ्घर्ष समितिले आज मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।


सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले संघीय राज्य सत्ताबाट पटक पटक सुदूरपश्चिमवासीप्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय पनि परेकोले सुदूरपश्चिमवासी दशकौंदेखि सङ्घर्षरत रहेको उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update