Paschim Express
विपिन जोशी हमासले रिहा गर्ने ३४ जनाको सूचीमा नअटाएपछि चलाइयो ह्याशट्याग अभियान

काठमाडौं ।  प्यालेस्टाइनी समूह हमासले बन्धक बनाएका  कञ्चनपुरका  विपिन जोशीको रिहाइका लागि सामाजिक सञ्जालमा ह्याशट्याग अभियान सुरु भएको छ । विगत १५ महिनादेखि बन्धक तथा बेपत्ता नेपाली विद्यार्थी जोशीलाई हमासले रिहाइ गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता, कलाकार र राजनीतिज्ञले अभियानमा ऐक्यबद्धता जनाएका हुन् । 

यसअन्तर्गत अहिले मुख्यतः चार ह्याशट्याग ट्रेन्डिङमा छन् । #BipinJoshi #ReleaseBipinJoshi #HamasPlease र #QatarSaveBipin अहिले सामाजिक सञ्जाल फेसबुकमा ट्रेन्डिङमा छन् । 

“हमासले ३४ जना बन्धकहरू मुक्त गर्न लागेको खबर आएको छ । तर दुखको कुरा, त्यो सूचीमा नेपालका विपिन जोशीको नाम छैन,” गणेश कार्कीले विपिनको पक्षमा एक पोस्ट लेख्दै भनेका छन्, “विपिनको नाम थप्न कतारले हमाससँग सिफारिस गर्न सक्छ । हमासले अकारण नै बन्धनमा परेका विपिनलाई मुक्त गरी दिन सक्छ । यी भए सम्भावनाका कुरा ।”

त्यस्तै अगाडि भनिएको छ, “यसमा हामीले विनम्रतापूर्वक कतार र हमासलाई आग्रह गर्न सक्छौँ कि विपिनलाई मुक्त गरिदेऊ । यसका लागि विपिन जोशीको नाममा #BipinJoshi #ReleaseBipinJoshi #HamasPlease #QatarSaveBipin जस्ता ह्यासट्यागहरू प्रयोग गरेर सामाजिक सञ्जालमा ट्रेन्डिङ गर्न सक्छौँ । थाहा छैन, हामीले यति गर्दा सकारात्मक प्रभाव परेर, दबाब वा अनुनय गरेर विपिन छुट्छन् कि छुट्दैनन् ? तर यति गर्दा हाम्रो तर्फबाट केही समय बाहेक अर्थोक केही पनि खर्च हुँदैन । केही नगुमाइ कसैको जीवन फर्काउन यति त हामी गर्न सक्छौं ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका कार्कीको यो पोस्टलाई सयौँ प्रयोगकर्ताले शेयर गरेका छन् ।

लर्न एन्ड अर्न कार्यक्रमका इजरायल पुगेका जोशी सम्पर्कविहीन बनेका थिए । ७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।

हमासले इजरायल आक्रमणका क्रममा बन्दी बनाएकामध्ये ३४ जनालाई रिहा गर्ने भनिएको छ । हमासका एक वरिष्ठ अधिकारीले ३४ जनाको सूची सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै इजरायलसँगको सम्भावित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत उनीहरूलाई रिहा गर्न लागेको जनाएका छन् । तर, उक्त सूचीमा जोशी नरहेको बताइएको छ । 

 
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update