Paschim Express
डडेल्धुराको अजयमेरु गाउँपालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत ओझा

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका जितेन्द्र ओझा हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत रहेका ओझालाई अजयमेरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि मंगलबार उनी हाजिर भएका हुन् । 

मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी अजयमेरुमा ओझालाई कामकाज गर्न खटाइएको हो । ओझालाई मन्त्रालयले असोज १९ गते नै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित कामकाजका लागि खटाएकोमा जिल्ला प्रशासन कार्यालयले मंगरबार मात्रै रमाना दिएको हो । 

विगतदेखि नै अजयमेरु गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेशलाई लत्याएको भन्दै विवाद बढ्दै गएको थियो । गत असार २४ गते मन्त्रालयले प्रमुख प्रकासकीय अधिकृत नभएका स्थानीय तहमा निमित्त तोक्दा ‘वरिष्ठ’ कर्मचारीलाई जिम्मेवारी दिनू भन्दै परिपत्र गरेको थियो ।

तर, अजयमेरुमा भने गाउँपालिका जुनिएर शिक्षा शाखा अधिकृत लालबहादुर सेठीलाई जिम्मेवारी दिइएको थियो । असारमा मन्त्रालयबाट आएको पत्रपछि गाउँपालिकाले उनको स्थानमा वरिष्ठ कर्मचारीलाई निमित्त तोक्नुपर्ने थियो । 

तर, नियमसंगत निमित्त नतोकिँदा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले असारपछि तलब नै पाएका थिएनन् । सामाजिक सुरक्षा भत्तासमेत निकासा नहुँदा गाउँपालिकावासीलाई समस्या भइरहेको थियो ।

कर्मचारीहरुले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकास नहुँदा गाउँपालिकावासीलाई समस्या भएकोले स्थानीय युवाले आज पालिकामा तालाबन्दी गरेका थिए । 

पालिकाको समस्या समाधानको माग गर्दै आज वडा नम्बर ६ का अध्यक्ष हरि भण्डारी, नेपाली कांग्रेस अजयमेरुका सभापति टेकराज पाण्डेय लगायत जिल्ला प्रशासन पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update