Paschim Express
कलेजो 'ड्यामेज' भएपछि अस्पतालको शैय्यामा छटपटाउँदै डडेल्धुराका प्रदिप,  उपचारमा आर्थिक अभाव

डडेल्धुरा । डडेल्धुराका प्रदिप नगरकोटी । सरल स्वभाव, मेहनती र असल व्यवहार भएका युवा । डडेल्धुरामा क्रिकेट खेल जोगाइराख्न विभिन्न प्रतियोगिता आयोजना गरिरहने उनी उमेरले ४० मात्रै कटेका छन् । एक समयका धुरन्दर क्रिकेट खेलाडीसमेत रहेका उनै नगरकोटी अहिले अस्पतालको शैय्यमा छटपटाउँदै छन् । जिल्लाको अमरगढी नगरपालिका–५ घर भएका उनी निम्न वर्गीय परिवारमा जन्मिका थिए । तर, पनि आफ्नो पढाईलाई निरन्तरता दिँदै उनले केही गैरसरकारी कार्यालयमा काम गरे । त्यसपछि जिल्लामै उनले सानो व्यवसाय सुरु गरेका थिए, रेष्टुरेन्टको । तर, त्यहिबेला(२ वर्ष पहिले) उनी एक्कासी बिरामी परे । 

अस्पतालमा चेकजाँच गर्दा उनको कलेजोमा संक्रमण भएको भनियो । जिल्लाको अस्पताल तथा जिल्लाबाहिरका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि उनी निको भएनन् । सोही कारण उनको परिवार विगत केही समयदेखि काठमाडौंमा बस्दै आएको थियो । श्रीमान्को उपचारकै लागि उनकी पत्नी यशोदा देउवा छोरासहित काठमाडौंमा बसिरहेका थिए । जेनतेज ॠण दान गरेर पतीको उपचार गराइरहेकी यशोदामाथि अहिले भने आकाश खसेको छ । अहिले चिकित्सकहरुले प्रदिपको कलेजो पूर्णरुपमा खराब भएको भनेपछि यशोदाले पतीलाई काठमाडौंस्थित शिक्षण अस्पतालमा भर्ना गरेकी छिन् । 

nagarkoti-1736319625.jpg
ग्याँस्ट्रो वार्डमा भर्ना भएका प्रदिपको कलेजो प्रत्यारोपण गर्न अस्पतालले भनिरहेको छ । तर, ॠणमा डुबिसकेकी यशोदालाई प्रत्यारोपण गर्न लाग्ने करिब ५० लाख कसरी जुटाउने हो भन्दै चिन्ता लागेको छ । उपचारमा धेरै खर्च भइसकेको र कमाउने मान्छे नै बिरामी परेपछि उपचार खर्च जुटाउन निकै अप्ठेरो भएको यशोदाले बताइन् । उनका अनुसार अहिलेसम्म पतीको उपचारका लागि १५ लाख रुपैयाँ खर्च भइसकेको छ । तर, अब लाग्ने ५० लाख कसरी खोज्ने भनेर पतीसँगै शैय्या छेउमा बसेकी उनी तनावमा देखिन्छिन् । 

‘अस्पतालले तत्काल कलेजो प्रत्यारोपण गर्न भनेको छ । श्रीमानको अहिले पेट पुरै सुन्निएको छ । कलेजो प्रत्यारोपण गर्न करिब ५० लाखसम्म खर्च आउने भनिएको छ । कसरी जुटाउने होला’ आँखाभरी आँसु बनाउँदै यशोदाले भनिन् । 

उनले आफ्नो श्रीमान् बचाउनका लागि आर्थिक सहयोगको अपिल गरेकी छिन् । उनले सहयोग गर्न चाहनेलाई माछापुछ्रे बैंकमा रहेको खाता नम्बर १६७०९७६७२२२०००१६ मा रकम जम्मा गरिदिन वा मोबाइल नम्बर ९८६८८५८९१४ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेकी छिन् । साथै उनले तल दिइएको बैंकको क्यूआर कोड समेत उपलब्ध गराएकी छिन्  ।

472571496_3966458076977235_5516488589248571825_n-1736319404.jpg
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update