
काठमाडाैं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् ।
परराष्ट्रमन्त्री डा राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।
हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा राणाले इजरायली राजदूतसँग जानकारी लिएकी हुन् ।
भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकको रिहाइका लागि इजरायल सरकारले केही महिना अघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका थिए ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेकाे थियाे ।
त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा कञ्चनपुरका विपिन जोशी पनि रहेका छन् । उनीहरुमध्ये ३४ जनालाई मुक्त गर्न लागिएको तयारी हमास समूहले गरिरहेको समाचार आएको छ ।