अछाम । उर्मिला काफ्ले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छिन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १६ मंसिरमै अछामको पञ्चदेवल विनायक नगरपालिकामा सरुवा गरेको थियो । तर, सरुवा भएको एक महिना बितिसक्दा पनि उनी अछाममा हाजिर भएकी छैनिन् ।
काफ्ले बिहीबारसम्म पनि जीतपुरसिरमरा उपमहानगरपालिकाकै कार्यालयमा कार्यरत छिन् । अछाम आउन नमानेपछि मन्त्रालयले २ पटक उनलाई सरुवा भएको स्थानमा जान ध्यानाकर्षण पत्र पठाइसकेको छ ।
पहिलोपटक पुस १२ मा अछामको बिनायक पञ्चदेवल नगरपालिकामा पुगेर कामकाज सम्हाल्न मन्त्रालयले पत्र पठाको थियो । तर काफ्लेले टेरिनन् । मन्त्रालयले त्यसपछि पुनः २२ पुसमा उनलाई सरुवा भएको स्थानमा रमाना हुन पत्र पठायो । पछिल्लो पटक पठाएको रमनापत्र अनुसार पनि उनी अछाम नपुगे विभागीय कारवाही गर्ने सन्देश मन्त्रालयले काफ्लेलाई पठाइसकेको छ ।
तर, काफ्लेले भने जीतपुरसिमरामा अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाएको र आफुलाई नियतबस सरुवा गरेको भन्दै सरुवा भएको स्थानमा नजाने आशय व्यक्त गरेकी छन् ।
काफ्लेको यो सन्देश पाएपछि संघीय मामिला मन्त्री राजकुमार गुप्ता स्वयंले काफ्लेमाथि विभागीय कारवाहीका लागि मातहतका कर्मचारी युनिटलाई निर्देशन दिइसकको बताइएको छ ।