Paschim Express
डडेल्धुरामा विमानस्थल बन्न लागेकोप्रति नेकपा एसका अध्यक्षको विरोध,  भने– 'किन बनाउनु पर्‍यो'

डडेल्धुरा । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा अनावश्यक घरेलु विमानस्थल बनाउने क्रम बढेकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् ।

बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले भैरहवा, पोखरा, बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेल्धुरामा पनि विमानस्थल बनाउन खोज्नु गलत भएको टिप्पणी गरे । अध्यक्ष नेपालले डडेल्धुरा र उदयपुरमा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे  ।

उनले भने, 

'आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ । विमानस्थलको आवश्यकता छ ? अहिले त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरु दोषी हुन्छन् की हुँदैनन् ? त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो, त्यो नोक्शान भइरहेको छ नेपाल सरकारलाई । त्यसको निम्ति को जिम्मेवार । अहिले पनि त्यो जारी छ । अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला ।

त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु प¥यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरुले पनि धेरै नोक्शानी भइरहेको छ ।'

डडेल्धुरामा विमानस्थलका लागि अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडालाई प्रस्तावित  गरिएको छ । २०७६ मा  विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो । नागरिक उड्‌डयन प्राधिकरणको टोलीले  स्थलगत अध्ययनका अधारमा साविक समैजी गाविसको पुइलेकदेखि वयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताएको थियो । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो । 

गत कात्तिकमा गृहजिल्ला पुगेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त स्थलको निरीक्षण गरेका थिए ।निरीक्षणपछि उनले हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताएका थिए । उनले उक्त स्थान विमानस्थलका लागि उपयुक्त रहेको उल्लेख गर्दै  ती दुई वटै सर्भे भएपछि बजेट ल्याउने प्रतिवद्धता जनाएका थिए । 

462579849_911292400961541_3774902582292270061_n-1731579332-1736419910.jpg
 

डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेलधुरामा विमानस्थल सञ्चालनमा आए यातायातमा राहत हुने विश्वास सुदूरपश्चिमको पहाडी जिल्लावासीको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update