डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाद्वारा परशुरामधाम क्षेत्र संरक्षण र विकास कार्यसमिति गठन गरिएको छ । नगरपालिकाको परशुराम क्षेत्र संरक्षण र विकास सम्बन्धि ऐन २०८१ बमोजिम हिजो बसेको नगर कार्यपालिका बैठकले मीनबहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको असारमा सम्पन्न १५औं नगरसभाले परशुराम धामको प्रचार, प्रसार, संरक्षण, सम्बद्र्धनका लागि सर्वसम्मतबाट ऐन पारित गरेको थियो । स्थानीय सरकारको मातहतमा रहने गरि ऐनमा भएको व्यवस्था अनुसार समिति गठन गरिएको नगरप्रमुख भरत वडायर जोशीले बताए ।
समितिको उपाध्यक्षमा वडा नम्बर ४ का गोपालदत्त जोशी, वडा नम्बर ५ का वडाअध्यक्ष दिलबहादुर शाहि (पदेन सदस्य), वडा नम्बर ६ का धनबहादुर धामी, वडा नम्बर ४ का तिर्थराज अवस्थी र वडा नम्बर १२ का प्रकाश चटौत नियुक्त भएका छन् । त्यसैगरि सदस्य सचिवमा वडा नम्बर ५ का वडा सचिवलाई नियुक्त गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक तथा पर्यटकिय तिर्थको परशुरामधामको सम्पूर्ण स्वामित्व स्थानीय सरकार परशुराम नगरपालिकामा रहने जारी ऐनमा व्यवस्था छ । जिल्ला प्रशासन कार्यालय सहितका निकायमा दर्ता भइ क्रियाशील परशुराम क्षेत्र विकास समितिको क्षेत्राधिकार भने एक गैर सरकारी कार्यालय सरह रहने भएको छ ।
नव गठित समितिको काम कर्तव्य र अधिकार पनि ऐनको व्यवस्था अनुसार हुने जनाइएको छ । उक्त ऐन राजपत्रमा प्रकाशित भइसकेको छ ।
भगवान बिष्णुको छैटौं अवतार चिरञ्जीवी परशुरामले ध्यान, तपस्या गरेको पवित्र धार्मिक, साँस्कृतिक तथा पर्यटकीय तीर्थस्थल परशुरामधाममा यसअघि नगरपालिकाले गुरु योजना बनाई विभिन्न भौतिक पूर्वाधारसँगै बाँध निर्माण गरेको थियो । यहाँ भगवान परशुरामको सबैभन्दा अग्लो ५४ फिटको मूर्ती समेत निर्माण गरिएको छ । परशुराम धामको गुरुयोजना अनुसार भौतिक पुर्वाधारको निर्माण समेत भईरहेको छ ।
अझ यस तीर्थको गरिमा राष्ट्रिय र अन्तर्राष्टिय रुपमा प्रचारप्रसार गरी नगरपालिकाको सांस्कृतिक पर्यटकीय विकासका लागि पहल गरिने नवनियुक्त अध्यक्ष मीन बहादुर चन्दले बताए । परशुराम तीर्थमा यहि पौष २९ गते राति रतेडी परशुराम मेला र माघ १ गते बिहान माघे सक्रन्ती (मकर मेला) लाग्ने गरेको छ ।