Paschim Express
एकैपटक तीन हजार जनाले छलिया नाचेर बनाए विश्व रेकर्ड

काठमाडौं । नेपाली सीमा नजिकै रहेको भारतको उत्तराखण्डको पिथौरागढमा तीन हजार कलाकारले छलिया तथा झोडा नाच देखाएर विश्व रेकर्ड बनाएका छन् । यही अक्टुबर १२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा देखाइएको उक्त नाच ‘गिनीज बूक अर्फ वल्ड रेकर्डमा’ दर्ता भएको छ ।

उक्त उपलक्ष्यमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सबै कलाकारलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले लोक कलाकारहरुले आफ्नो परम्परागत भेषभूषा र लोकगीतमार्फत विश्वको ध्यान उत्तराखण्डतर्फ केन्द्रित गराएको बताएका थिए ।

छलिया नृत्य सुदूरपश्चिम प्रदेश र छिमेकी मुलुक भारतको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रको एक प्रचलित लोकनृत्य हो । यो एउटा तलबारको नृत्य हो, यसलाई हाल विवाहमा प्रयोगमा ल्याइन्छ । नेपालको बैतडी, डडेल्धुरा, दार्चुला, डोटी क्षेत्र एवं उत्तराखण्डको चम्पावत, कुमाउ मण्डल पिथौरागढ, बागेश्वर, अल्मोडा जिल्लामा यो प्रख्यात छ ।

त्यहाँको संस्कृतिको एक अभिन्न अंग नै बनिसकेको छ । उहिले क्षेत्रीय राजाहरूको समयमा दुलाहादुलाहीसहितको बारात हिँड्दा, प्रतिद्वन्द्वीहरूले दुलही अथवा दुलाहालाई अपहरण गर्न सक्ने सम्भावना हुने भएकाले, जन्तीका अघि युद्धकौशलमा निपुण सैनिकहरूलाई तरबार नचाउँदै, गीत गाउँदै लिएर हिँड्ने गरिन्थ्यो ।

कालान्तरमा यही नै एक महत्वपूर्ण रीतिरिवाजको रूपमा विकास हुनपुगेको देखिन्छ । कतैकतै, छलले युद्ध भूमिमा शत्रुलाई कसरी पराजित गर्ने भनेर देखाइने नृत्य भएको हुनाले यसलाई छलिया नृत्य पनि भनिएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update