Paschim Express
सुदूरपश्चिममा माघे संक्रान्ति र माघी पर्व धुमधामका साथ मनाइँदै, परशुरामधाममा मकर स्नान मेला

डडेल्धुरा । सुदूरपश्चिममा कैलाली, कञ्चनपुरका थारु समुदायले मंगलबार नयाँ वर्षका रूपमा मनाइने माघी पर्व मनाइरहेका छन्। त्यस्तै पहाडी समुदायले माघेसंक्रान्ति पर्व उल्लासका साथ मनाइरहेका छन् ।  माघेसंक्रान्ती पर्वको अवसरमा प्रदेशका विभिन्न धार्मिक स्थलमा मेलाको आयोजना भएको छ ।

कैलालीको गोदावरी धाममा विशेष रूपमा मकर मेला लागेको छ । हरेक वर्षजस्तै यस वर्ष पनि मकर मेलामा स्थानीय भक्तजनसहित प्रदेशका विभिन्न ठाउँबाट श्रद्धालुहरूको भीड लागेको छ।  

मनोकामना पूरा हुने विश्वासमा रातभरि जाग्राम बसेर बिहानै गोदावरीमा नदीमा स्नान गरेका छन् । धाममा मकर मेलामा स्नान, पूजा, तथा यज्ञप्रवचन हुने छ।  हिजो नै औपचारिक कार्यक्रमबाट मेलाको सुरूवात भइसकेको छ । उक्त  मेला एक महिनासम्म लाग्नेछ ।

गोदावरी धामले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको हुँदा माघेसंक्रान्तिका दिन यहाँ मेला भर्नेको उत्साह छुट्टै हुने आयोजक पदमराज जोशीले बताए ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर पाँचमा रहेको धार्मिकस्थल परशुरामधाममा पनि मेला लागेको छ । सोमबार रातिदेखि त्यहाँ श्रद्धालुहरूको भीड छ । नेपालका चार वटा धाममध्येको एक धाम कालीनदी किनारमा रहेको परशुरामधाममा प्रत्येक वर्ष मकरसङ्क्रान्तिका दिन मेला लाग्ने गर्छ । हिन्दु मान्यता अनुसार भगवान् विष्णुका १० अवतारमध्ये परशुराम छैटौँ अवतार भएको विश्वास छ । सप्तऋषिमध्येका एक जमदग्नीका छोरा परशुराम भएको मानिन्छ  । उनले  भगवान् शिवको तपस्या गर्दा भगवान् खुसी भएर बन्चरो उपहार दिएको किंवदन्ती छ । त्यसैले परशुरामलाई बन्चरो बोक्ने राम पनि भनिन्छ ।  यही क्षेत्रमा उनले भीष्मपितामह, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या सिकाउनुभएको र भगवान् रामले पनि त्यहीँ समाधि लिएको विश्वास गरिन्छ । 

मकरसङ्क्रान्ति र सूर्यग्रहण लागेका बेला डडेलधुराबाट मात्रै १६ वटा शिवालयका देउरा लगिन्छ । ९देउरालाई स्नान गराइन्छ । खिट्केश्वर, भागेश्वर, असिग्राम, वैद्यनाथ, घटाललगायतका देउरा लगिन्छ । देउराहरू स्नान गर्ने अलग अलग घाट छन् । देउरालाई देवघाटमा सामूहिक स्नान गराइन्छ । परशुराम क्षेत्र विकास पूर्वअध्यक्ष पण्डित कैलाशकुमार पाण्डेयले विष्णुको छैटौँ अवतारका रूपमा परशुरामले हैयवंशी क्षेत्रीहरूको २१ पटकसम्म संहार गरेपछि यस क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको स्कन्दपुराणमा उल्लेख भएको बताउनुभयो ।

यसका अतिरिक्त सतीदेवीको पूर्ण अङ्ग पतन भइसकेपछि भगवान् शिव यही धाममा आएर तपस्या गरेको पनि बताइन्छ । धर्मराज युधिष्ठिरले यज्ञसहित द्वारसमेत निर्माण गरेको जनविश्वास रहिआएको छ । महाकाली नदी विभिन्न रत्नद्वारा प्रशोधित भएर बग्ने भएकाले त्यसको जल सेचन हुँदा ऊर्जा प्राप्त हुने जनविश्वास रहेको छ ।

सुदूरपश्चिममा थारू समुदायको बस्तीमा पनि माघी पर्वको रौनक छाएको छ । माघीलाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउने परम्परा छ । पर्वमा घरपरिवारका सदस्यहरू भेला भई विभिन्न परिकार बनाएर भोज गर्ने, बंगुर काट्ने, आपसमा आशीर्वाद साटाफेर गर्ने, र नयाँ जिम्मेवारी बाँड्ने परिपाटी रहेको उक्त समुदायका अगुवा रामदहित थारूले बताए ।

 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update