Paschim Express
बझाङमा माटो खन्न गएकी ४० दिने सुत्केरीको च्यापिएर मृत्यु, दुई नाबालकको बिचल्ली

बझाङ । घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर बझाङमा एक महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा थलारा गाउँपालिका–३ देवल निवासी राधिका जोशी (उपाध्याय) छिन् ।

सोमबार दिउँसो करिब १ बजे गाउँनजिकैको भगवती आधारभूत विद्यालय क्षेत्रमा घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएकी हुन् । त्यहीकारण उनको घटनास्थलमै मृत्यु भएको हो ।

यहाँका गाउँमा सुत्केरी भएकै समयमा पनि भारी काम गर्नुपर्ने, घरको काममा सघाउनु पर्ने बाध्यता छ ।

माटोको खानमाथि रहेको ठूलो ढुंगा खसेर उनी च्यापिएकी थिइन् । उपाध्यायकी ४० दिने नाबालक र अढाई वर्षीय अर्का छोरा टुहुरो भएका छन् ।

आमाको मृत्यु भएपछि नाबालक विचल्लीमा परेका छन् । पति कुलराज उपाध्याय गौमुल गाउँपालिकामा प्रशासन सहायकका रुपमा कार्यरत छन् ।

कार्यालयमा रहेका पति पत्नीको निधनको खबर सुनेर घरमा गएका छन् । माघी पर्वको मुखमै २४ वर्षीया राधिकाको निधनले गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update