Paschim Express
बैतडीमा यस्तो पनि स्वास्थ्यचौकी जहाँ टर्च बालेर प्रसूति सेवा दिन्छन् स्वास्थ्यकर्मी

बैतडी। बैतडीमा यस्तो पनि एउटा स्वास्थ्य चौकी छ, जहाँ पानीको धारा र बिजुलीबत्ती नै छैन । जहाँ दुई कोठाको टिनको छाना भएको भुइँतलामुनि स्वास्थ्यकर्मीले विगत ७ वर्षदेखि टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएका छन् । पानी नहुँदा स्वास्थ्यकर्मी आफैले जर्किनमा पानी बोकेर लग्ने गरेका छन् ।

यो अवस्था सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य चौकीमा छ । स्थानीय तहको पुनर्संरचनापछि जङ्गलमा निर्माण भएको यो आधारभूत स्वास्थ्य चौकी वरिपरि बस्ती नहुँदा दिउँसै पनि डर लाग्ने गरेको अनमी सबिना कार्कीले बताइन् । भोजपुर घर भएकी सबिनाले सुदूरपश्चिमको बैतडी जस्तो दुर्गममा बसेर स्वास्थ्य सेवा गर्ने आफ्नो रहर करमा बदलिएको बताइन् । ‘स्वास्थ्य चौकीमा बत्ती र पानीको धारा छैन । सोलार बिग्रेपछि टर्च बालेर स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको छ’ उनले भनिन् ।

स्वास्थ्य चौकीको दयनीय अवस्था देखेर सेवाग्राही कम आउने गरेको सुनाउँदै उनले गत वर्ष जम्मा तीन जना मात्रै प्रसूति सेवा लिन आएको बताइन् । दुई कोठाको भुइँतले टिनको भवनमा प्रसूति गराउने ठाउँ नभएकाले ओपिडी सेवा लिने कोठासँगै जोडिएको प्रसूति कक्षको झ्याल ढोका बन्द गर्नुपर्ने अवस्था रहेका उनले बताइन् । सोही अवस्थामा टर्च बाल्नुपर्ने बाध्यता रहेको अनमी कार्कीले बताइन् ।

पानीको धारा नहुँदा प्रसूति सेवा दिन जर्किनमा पानी बोकेर ल्याउने गरेको स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र ऐरीले बताए ।

अनुगमनमा गएका स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि हरिश भट्टका अनुसार बिच जङ्गलमा रहेको स्वास्थ्य चौकीमा बिजुली, पानी र अन्य कुनै सुविधा नरहेको बताए । ‘बस्तीनजिक हुनुपर्ने स्वास्थ्य चौकी जनप्रतिनिधिले किन जङ्गलमा राखे ? बुझ्न सकिएको छैन । वरिपरि कुनै घर वा क्यान्टिन नहुँदा बिरामीले तातोपानी र खाना खान पाउने अवस्था छैन’ उनले भने ।

स्थानीय तहको पुनर्संरचनापछि पाँच रोपनी जग्गा उपलब्ध भएकाले वडा कार्यालयनजिकै आधारभूत स्वास्थ्य चौकी निर्माण गरिएको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताए । ‘बजेट कतैबाट आउँदैन । गाउँपालिकामा बजेट छैन । प्रदेशसम्म पहुँच पुग्दैन’ उनले भने ।

यो वर्ष उक्त वडाका २२ जना सुत्केरी महिला स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला डडेल्धुरा जान बाध्य भएको सिगास गाउँपालिका–१ का स्थानीय पवन चन्दले बताए । प्रसूति हुन डडेल्धुरा जानुपर्दा एम्बुलेन्सको एकतर्फी भाडा मात्रै १० हजार तिर्नुपरेको पीडा उनले सुनाए । 



 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update