कञ्चनपुर । कञ्चनपुरमा श्रीमान्को हत्या आरोपमा पक्राउ परेकी ४३ वर्षीया जनककुमारी रानाले आरोप स्विकार गरेकी छिन् । गत मंसिर १३ गते बेलौरी नगरपालिका६, भुराकोटका ४९ वर्षीय सियाराम रानाको हत्या आरोपमा उनकी श्रीमती जनककुमारी पक्राउ परेकी थिइन् ।
उनले आफ्ना प्रेमीसँग मिलेर हत्या गरेको स्विकार गरेकी हुन् । जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सियारामको हत्या गरेको अनुसन्धानबाट पनि खुलेको प्रहरीले जनाएको छ । भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर बस्ने फारुख र जनककुमारी केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
प्रहरीका अनुसार सितारामले गरेको २८ लाखको बीमा हत्याउने र श्रीमानको मृत्युपछि सँगै बस्ने योजना बनाएर जनककुमारीले हत्या गरेकी हुन् । पुस १३ गते शौचालयमा लडेर मृत्यु भएको बयान दिएकी जनककुमारीले १४ गते आफैंले रिसमा आएर इट्टाले हानेर हत्या गरेको बयान दिएकी थिइन् ।
अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएको बताउँदै दुवै जनाले योजना बनाएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका भारतीय नागरिक तस्करीको सामान ओसारपसार गर्ने काम गर्दै आएको समेत प्रहरीले बताएकाे छ ।