Paschim Express
संविधान पूर्ण कार्यान्वयनको चरणमा अघि बढेको छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर राख्न सफल भएको बताएका छन् ।

संविधान जारी भएको आठ वर्ष पूरा भएको अवसरमा बुधबार शुभकामना व्यक्त गर्दै सभापति देउवाले संविधानको व्यवस्थाबमोजिम कानुनहरू निर्माण भएर संविधान पूर्ण कार्यान्वयन हुने चरणतर्फ अघि बढेको समेत दाबी गरेका छन् ।

'ऐतिहासिक जननिर्वाचित संविधानसभा मार्फत संविधान निर्माण भई जारी भएको आज ८ बर्ष पुरा भएर ९ बर्षमा प्रवेश गरेको छ । यो अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालको रुपमा काम गरिरहेका छन् । नयाँ संविधान अनुसार विभिन्न ऐन(कानुन निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयन तर्फ अघि बढेको छ,' देउवाले शुभकामना सन्देशमार्फत भनेका छन्, 'नयाँ संविधान अनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षाअनुसारको काम गर्न अग्रसर देखिएका छन् ।'

सभापति देउवाले संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्नेमा सफलता हासिल गरेको समेत दाबी गरेका छन् ।

'लोकतान्त्रिक संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ । संवैधानिक अभ्यासमा भएका कमी–कमजोरी सच्चाउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी छ,' देउवाले अघि भनेका छन्,'सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र विभिन्न पेशाकर्मीहरूको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशको रुपमा अघि बढाउनुपर्ने दायित्व हामी सबैको काँधमा आएको छ ।'

उनले संविधानको सफल कार्यान्वयन गरेर जनतालाई न्याय, सुशासन, समानता, सुख एवं समृद्धिसहितको समुन्नत मुलुक बनाउन सबैले आपसमा हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update