Paschim Express
चाडपर्वको आर्थिक सम्बन्ध

नेपालीहरुका बिभिन्न पर्वमध्ये दसैँ प्रमुख पर्व हो । दसैँ हिन्दु धर्मावलम्वीहरुको चाडको रुपमा चिनिए पनि नेपालमा लगभग ८२ प्रतिशत हिन्दुहरुको बसोबास भएको कारण दसैँमा प्राय: सबै धर्मावलम्वीहरुले केही न केही रुपले भाग लिइ मनाउने गर्दछन् । असत्यमाथि सत्यको जीतको पर्वको रुपमा दसैँलाइ मनाउने हिन्दु परम्परा हो ।

दसैँ पर्व शरद ऋतु आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न विधि, उद्देश्य, विधान र संस्कार अनुसार मनाइन्छ । वर्षा ऋतुको कष्टकर जीवनको समाप्तीपछि हर्ष उमंग र खुशीको प्रतिकको रुमा शरद ऋतुको आगमनसंगै लोक संस्कृतिअनुसार विभिन्न चाडपर्वहरु खुसीयालीका साथ मनाउने गरिन्छ । ओल्के, गौरा, बण्डुनी जस्ता मौलिक एवं लोक परम्पराका चाडपर्वसंगै दसैँ तिहारको रौनक सुरु हुन्छ । यी र यस्तै थुप्रै चाडपर्वहरुले हाम्रो समाजमा आपसी सद्भाव, भाइचारा, मित्रता, भेटघाट, मिलन जस्ता कुराहरुको सुरुवात गराउँछ । 

सुख र दु:ख जीवनका दुइ पाटा भएकोले सबैको जीवनमा यी दुबै संगसंगै हुन्छन् । अनुभव र महसुस गर्ने यस्ता मानवीय भावनाहरुले नै मानव जीवन रंगिन वा फिक्का भएको महसुस हुन्छ । जीवन रंगीन वा फिक्का महसुस गराउने गरी हरेक बसन्त पार गरी आउने चाडपर्वहरुलाइ हामीले उचित व्यवस्थापन गर्न सक्नु पर्दछ । भौतिकबादी बिकासको यो युगमा धन सम्पत्तिको ठूलो महत्व छ । अर्थ को उचित प्रयोग गरि दुर्लभ साध्य प्राप्त गर्न सकिन्छ । त्यसैले अर्थको समुचित प्रयोग हुनु पर्दछ ।

हाम्रा चाडपर्वहरुलाइ पनि हामी आफुसंग भएको सिमित अर्थको प्रयोग गरि जीवन रंगिन बनाउन सक्छौ । अर्थको प्रयोग कसरी गर्ने भन्ने जान्नका लागि निम्न कुरामा ध्यान दिन सके उचित हुन सक्छ । चाडपर्वमा पाहुन तथा आफन्तजनहरु संग भेटघाट गर्ने मिठो मसिनो खाने राम्रो लगाउने आपसी सद्भाव र मित्रताको साटासाट गर्ने गरिन्छ । मन परेको उपहार वा दर्शन आदान प्रदान गरिन्छ । मुख्यतया नेपाली चुलोमा यतीबेला मांसाहारी परिकारहरु र देशी तथा विदेशी पेय पदार्थहरुको प्रयोग गरिन्छ । यस टिप्पणीमा सामान्यतया नेपाली चुलोमा हुने यस्तो परिकार तथा पेय पदार्थमा हुने खर्चको अनुमान गर्न खोजिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ६६,६६,९३७ परिवारमा २,९१,६४,५७८ जना ब्यक्ति बसोबास गर्दछन । लगभग ८२ प्रतिशत हिन्दुहरु बस्ने यो देशमा अन्य धर्मावलम्बीहरु पनि कुनै न कुनै तरिकाले दसैँ जस्तो महान पर्वमा सहभागी हुन्छन् । यसरी हेर्दा हिन्दु धर्मावलम्वीहरुको परिवार संख्या ५४,६६,८८८ मा दशै मनाइन्छ । करिव ६५ प्रतिशत सहरी जनसंख्या र ३५ प्रतिशत गाउमा बसोबास गर्ने जनसंख्या भएको आधारमा गाउ तथा शहर सबै क्षेत्रमा दसैँ मनाइन्छ । दसैँ पर्व कम्तीमा ९ दिन र बढीमा १५ दिन मनाइन्छ । १५ दिन मध्ये औषतमा ५ दिन जती दसैँभरी सबै परिवारमा मांशहार र पेय पदार्थको प्रयोग हुन्छ ।

१ परिवारमा कम्तिमा दिनको १ किलो मासुको प्रयोग गर्दा ५ दिनमा ५ किलो मासुको प्रयोग हुन्छ । दसैँलाइ लक्षित गरि खसी तथा च्याँङ्ग्राको मासु सहरी क्षेत्रमा १३ सय प्रति किलो र गाउ क्षेत्रमा ७ सय प्रति किलोका दरले औषतमा प्रति किलो एक हजार मासुमा खर्च हुँदा सोको हाराहारीमा रकम पेय पदार्थमा खर्च हुने आंकलन गर्न सकिन्छ ।

यसरी सामान्यतया ५ किलो मासुको रकम ५ हजार र पेय पदार्थको ५ हजार गरि १० हजार प्रति परिवार खर्च हुने अनुमान गर्न सकिन्छ । हिन्दु धर्मावलम्वीहरुको परिवार संख्या ५४,६६,८८८ को सामान्य खर्च ५४ अरब ६६ करोड ८८ लाख ८० हजार हुने गर्दछ । दशै जस्तै अन्य तिहार तथा पर्वहरुको खर्च अनुमान गर्दा यो रकम सामान्यतया दोब्बर हुन गइ एक खरब नौ अरब ३३ करोड ७७ लाख ६० हजार हुने अनुमान सहजै गर्न सकिन्छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार प्रति परिवार ४.३७ जना जनसंख्या रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालय को आ. ब. २०७९/०८० को बार्षिक राष्ट्रिय लेखा तथ्यांक अनुसार नेपालीको बार्षिक आय प्रति व्यक्ति १३९९ डलर रहेको छ । अहिलेको नेपाली मुद्रा अनुसार नेपालीको प्रति व्यक्ति बार्षिक आय १८६०६७।०० रहेको छ । उपरोक्त तथ्यांकको विश्लेषण गर्दा बार्षिक आयको न्युनतम रुपमा २.६८प्रतिशत रकम चाडपर्वको रुपमा खर्च हुने अनुमान गर्न सकिन्छ ।

यहां चाडपर्वको खर्च अनुमान गरिएको रकम केवल चुलोमा पाक्ने मांशहार र पेय पदार्थको न्युनतम रकम मात्र हो । यससंगै दान, दक्षिणा, उपहार अन्य लुगाकपडा, यातायात र मनोरञ्जन समेतको हिसाब गर्दा वार्षिक आयको करिब ५ प्रतिशत रकम चाडपर्वमा खर्च हुने अनुमान लगाउन सकिन्छ । उपरोक्त प्रतिशतका आधारमा डडेल्धुरा जिल्लाको बार्षिक चाडपर्व खर्च एक अर्ब २४ करोड ७७ लाख २० हजार हुने अनुमान गर्न सकिन्छ । प्रदेश लेखा इकाइ कार्यालय डडेल्धुराको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेश सरकारबाट बिनियोजन भएको रकम मध्ये  डडेल्धुरा जिल्लामा तपशिल अनुसार खर्च भएको अभिलेख छ ।

उपरोक्त तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेश सरकार बाट विनियोजन भइ वार्षिक रुपमा डडेल्धुरा जिल्लामा खर्च हुने प्रदेश सरकारको बजेट रकम को आधा रकम बराबर डडेल्धुरा जिल्लामा चाडपर्वको रुपमा रकम खर्च हुने अनुमान गर्न सकिन्छ ।उपरोक्त खर्च रकम डडेल्धुरा जिल्ला स्थित रहेका विभिन्न डिभिजन कार्यालयहरुको जस्तै खानेपानी डिभिजन कार्यालय, पुर्वाधार विकास कार्यालय, भु तथा जलाधार व्यवस्थापन कार्यालयहरुको कार्यक्षेत्र अन्य जिल्ला समेत भएको हुदा सम्बन्धित कार्यालयको खर्चमा बझाँङ्ग बैतडी दार्चुला डोटी कञ्चनपुर जिल्लाको समेत खर्च समावेश भएकोले डडेल्धुरा जिल्लामा मात्र भएको खर्च रकमको भार अझै घट्ने हुन्छ । 

चाडपर्वमा खर्च हुने उपरोक्त ठूलो रकमलाइ उपभोगमुखी संस्कार बाट बचत मुखी वा लगानीमुखी संस्कार तिर परिवर्तन गर्न सकेमा व्यक्ति समाज र देशको नै आर्थिक उन्नतिको क्षेत्रमा सुखद सुरुवात हुन सक्छ । उपभोग मुखी संस्कारलाइ लगानीमुखी संस्कारमा कसरी परिवर्तन गर्न सकिन्छ यस विषयलाइ सम्बन्धित सरोकारवाला र विशेषज्ञको बीचमा छलफल गराइ स्थानीय तह वा प्रदेश सरकाले आफ्नो आर्थिक नीति परिमार्जन गर्न पहल गर्नु पर्ने आवश्यक छ ।

उपभोगमुखी संस्कारलाइ बचत वा लगानीमुखी बनाउनतर्फ कसरी काम गर्न सकिन्छ 
यस लेखमा उल्लेखित तथ्यांकहरु सामान्य सरकारी तथ्यांक र सबैसंग सम्बन्धित सबैको भान्सा संग सम्बन्धित न्युनतम अनुमानित खर्चको प्रयोग भएको छ । अनुमानित खर्च काल्पनिक नभइ सत्यको नजिक छ । परिवारको भान्सामा सुधारको खाचो महशुस भएको छ । स्वस्थ जीवनका लागि स्वस्थ भान्सा अनिवार्य भइ सकेको छ । स्वस्थ भान्सा भनेको स्वस्थ आहार हुनु हो । स्वस्थ आहार भनेको साकाहार हुनु हो । जवसम्म अस्वस्थ आहार रहन्छ तव सम्म अस्वस्थ व्यक्ति रहन्छ । अस्वस्थ व्यक्तिबाट स्वस्थ्य समाज र देशको परिकल्पना गर्नु मुर्खता सिवाय केही होइन ।

स्वस्थ जीवनका लागि सन्तुलित आहारको आवश्यक्ता हुन्छ । सन्तुलित आहारका लागि विद्वान व्यक्ति बाट सिफारिस गरिएका हामिहरुले प्रयोग गर्ने आहार कति स्वस्थ छन तिनको प्रमाणित तथ्य छैन । तसर्थ भान्साबाट नै अस्वास्थकर जस्ता मांशहार र पेय पदार्थको प्रयोगमा निरुत्साहन गर्दै नसामुक्त साकाहार जीवनको सुरुवात गरौं ।

संसारमा जति पनि महामारीहरु भएका छन तिनिहरु कुनै न कुनै रुपले अस्वस्थकर खानपीनबाट नै भएका छन । त्यसैले सुद्ध खानपिन बाट सुद्ध विचारको विकास हुन्छ । सुद्ध विचार बाट सुद्ध भावनाको विकास हुन्छ । सुद्ध भावनाबाट जीवन सुद्ध हुन्छ । यसर्थ हाम्रा भ्रामक र त्याज्य परम्पराहरुबाट छुटकारा लिइ सिमित स्रोत साधनको प्रयोग गरि जीवन सुखमय बनाउन सकिन्छ ।

लहलहैमा लागि हुन जाने सामाजिक अपराध जस्ता पापकर्म बाट टाढै रही आफु र आफ्ना बालबालिकालाइ सुन्दर तथा सभ्य समाजको सदस्यको रुपमा विकास गर्नु पर्दछ  । चाडपर्वमा हुने फजुल खर्चलाइ शुन्य गरि सो रकमलाइ बचत तथा लगानिमा परिणत गर्दा व्यक्तिगत रुपले आर्थिक उन्नति हुने र सामाजिक तथा सास्कृतिक रुपले समृद्ध हुने भएकोले न्युनतम खर्चमा नै चाडपर्वहरु मनाउने तर्फ ध्यान दिन जरुरी छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update