डडेल्धुरा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश छनोट माघ २८ गतेदेखि हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आज धनगढीमा बसेको बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश छनोटको मिति तय गरेको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकवहादुर सिंहले माघ २८ गतेदेखि फागुन २ गतेसम्म छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।
कैलालीको धनगढीमा फुटबल, एथलेटिक्स, खो–खो र अत्तरियामा बुद्धिचालको छनोट प्रतियोगिता आयोजना गरिनेछ । कञ्चनपुरमा बक्सिङ, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, टेबल टेनिस, क्रिकेट, बास्केटबल, कुस्ती, भारात्तोलन छनोट प्रतियोगिताका खेलहरु हुनेछन् ।
यस्तै, बैठकले सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन २२ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेको सिंहले जानकारी दिए । त्यसअघि फागुन १५ गतेसम्म सबै जिल्लाको छनोट सम्पन्न गरिसक्नु पर्ने भनिएको छ ।