
कञ्चनपुर । हिजो (बुधबार)सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली प्रहार गरे । साँझ करिब साढे ८ बजे ड्युटीका क्रममा उनले सेन्ट्री कोत गारदमा एसएलआर राइफलबाट गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनामा गोली जवान बिष्टको दाहिने कानभन्दा माथि लागेको छ । घाइते बिष्टलाई तत्कालै महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर, उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ । निसर्ग अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको जोशीले बताएका छन् । उनले ती प्रहरी जवान पछिल्लो समयमा व्यक्तिगत तनावमा रहेको भन्ने बुझिएको बताए । ‘केही समयदेखि उनी तनावमा रहेको देखिने तर कसैलाई त्योबारेमा नबताएको भन्ने खुलेको छ । उहाँ अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होसमा आएपछि कारण पत्ता लाग्ला’ उनले भने ।
यसअघि पनि पुस १२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेका थिए । पेस्तोलले निधार छेउमा गोली हान्दा घाइते भएका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भएको थियो । हाल उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।