
अछाम । अछाममा सँगै मृत फेला परेका फुपू–भदैबारे प्रहरीले अहिलेसम्म कुनै ठाेस सुराक पाएको छैन । घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए । उनका अनुसार दुवै किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको छ । दुवैको शरीरमा चोटपटक पनि लागेको भेटिएको उनले बताए ।
अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर(स्निफर) मगाएको घटनास्थलमै रहेका डीएसपी भण्डारीले जानकारी दिए । अहिले शवको मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले बताएको छ ।
शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन् । ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा पल्साता गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का मृत फेला परेका थिए । मृतक दुवै जना किशोरी नाताले फुपू–भदै हुन् ।
शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार मात्रै जिल्लाबाट प्रहरीको टोली त्यहाँ पुगेको थियो ।
उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जंगल गएका थिए । बेलुका बाख्रापाठा घर फर्किए तर किशोरी फर्किएनन् । शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किँदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर पुगेको थियो ।