Paschim Express
अछाममा दुई किशोरी मृत्यु प्रकरणः दुई जना पक्राउ

धनगढी । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि दुई जना पक्राउ परेका छन् । शनिबार साँझा ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने ओडारको जंगलमा मृत फेला परेका थिए ।

सोही घटनाको अनुसन्धानका लागि शंकास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । प्रहरीले पक्राउ परेका दुई जनाको नाम भने सार्वजनिक गरेको छैन । 

डीएसपी भण्डारीका अनुसार शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू सोही दिनदेखि बेपत्ता भएका थिए । ‘प्रहरीलाई भने दोस्रो दिन अर्थात् शनिबार साँझ इश्वरीको शव फेला परेपछि खबर गरिएको थियो,’ डीएसपी भण्डारीले भने, ‘इश्वरीको शव नजिकै सरस्वती पनि मृत फेला परिन् । शनिबार राति भइसकेकोले घटनास्थल सुरक्षाको काम मात्रै भएको थियो ।’

आइतबार भने घटनास्थलमा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, अछाम प्रहरी प्रमुख भण्डारीसहितका अधिकारी पुगेका थिए । अछामका प्रहरी प्रमुख भण्डारीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरको केनाइन शाखाबाट ल्याइएको तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको थियो ।

डीएसपी भण्डारीले दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भेरी लगिएको जानकारी दिए । ‘घटनामा विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘हामीले दुई जनालाई पक्राउ गरेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएका छौं ।’

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update