
डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रीपरिषद्को सोमवारको बैठकले अछामको ककड शान्ता मोतिपुरकोट जन्मेका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
बाँकावीरले राणाहरूले अछामी जनतामाथि गरेको अत्याचारविरुद्ध बहादुरीपूर्ण लडाइँमा सहादत प्राप्त गरेका थिए । सामान्य जीवनमा पनि कसैले बहादुरका साथ काम सम्पन्न गरे उसलाई यो बाकाबीर हो भन्ने गरिन्छ। विसं १९०६ सालमा बाकावीरले राणाविरुद्ध विद्रोह गर्न खोजेको इतिहासकार बताउँछन् ।
को हुन् उनी ?
बलदेव शाह (बाकावीर) को जन्म सदूरपश्चिमको अछाममा भएको थियो । उनी अछामी राजा रणभूप शाहका कान्छा छोरा थिए । जङ्गबहादुरका सिपाहीद्वारा अछाममा मच्चाइएको आतङ्कविरुद्ध विसं १९०६ सालमा भएको बाकावीरको बिद्रोहका बारेमा इतिहासकार आत्माराम ओझाले नेपाली इतिहास मन्थनु पुस्तकमा उल्लेख गरेका छन् । उक्त समयमा अछामी शाहहरूको ‘राजा’ उपाधि कानुनी रूपमा कायमै थियो । राजा श्री ५ राजेन्द्रसँग पनि बाकावीरको पारिवारिक सम्बन्ध थियो ।
सत्ताको हालीमुहालीमा रहेका जङ्गबहादुरले काठमाण्डौँ उपत्यकाभित्रका आफ्ना विरोधीहरूलाई सखाप पारेका भए पनि उपत्यकाबाहिर आफूविरुद्ध हुनसक्ने षडयन्त्र र बिद्रोहमाथि निगरानी राख्न ठाउँठाउँमा पल्टन खटाएर सैनिक क्याम्प खडा गर्न लगाउने क्रममा सुदूरपश्चिममाथि निगरानी राख्न अछामको बान्नीगढीमा सैनिक क्याम्प खडा गरेका थिए । राणा सरकारको सैनिक क्याम्प बसिसकेपछि अछामी जनताका दुःखका दिनहरू आरम्भ भएका थिए । उनीहरूको ज्यादतीपूर्ण व्यवहारको विरोध गर्दा ज्यानै तलमाथि हुनसक्ने त्यस्तो जोखिमपूर्ण परिस्थितिमा बाकावीर आफू स्वयं सैनिक क्याम्प बान्निगढी पुगेर जनताहरूलाई नसताउन भनेका थिए ।
महिनौँसम्म पनि अत्याचार नरोकिएपछि राणा सरकारका सिपाहीहरूको अन्याय र अत्याचारबाट मुक्ति दिलाउन बाकावीर मैदानमा उत्रिए । विसं १९०६ को प्रारम्भबाट उनले अछामका गाँउगाँउमा घुमेर संगठन निर्माण गर्दै राणाविरुद्ध लड्न एकजुट हुन थाले ।
गुप्तचरको भेषमा राणाहरूले पठाएका सिपाहीहरूले तमाम प्रयास गर्दा पनि बाकावीरलाई पक्रन असफल भए ।
उनी जङ्गलमा लुकेर बस्न थाले र उतैबाट राणा विरोधी योजना बनाएर सञ्चालन गर्न थाले । यो थाहा पाएपछि सैनिकहरूले बाकावीर लुकेर बस्नसक्ने सम्भावित जङ्गललाई नाकाबन्दी गरे । यस नाकाबन्दीका कारण जङ्गलमा खाद्य आपुर्ति हुन सकेन । बाकावीरले प्राण रक्षा गर्न वनजङ्गलका गिठा, भ्याकुर तथा कन्दमुल खान थाले । त्यतिमात्र होइन उनले वनमा पाइने एकप्रकारको मुख कोक्याउने विषालु वनस्पति ‘बाको’ समेत खाएर प्राणरक्षा गर्नुपरेको थियो । ‘बाको’ जस्तो विषालु वनस्पति खाएर पनि जिवितै रहन सकेकामा बलदेव शाहलाई बाकोखाने वीर अर्थात् ‘बाकावीर’ भन्न थालियो ।
विसं १९०६ सालतिर नै जङ्गबहादुर आफू हात्तीमा सवार भई अछाम पुगेका वेला बलदेव शाहको बिद्रोहका बारेमा जानकारी लिएका थिए । काठमाण्डौँबाट पहाडैपहाड भएर महाकाली अञ्चलसम्म हात्ती सवार हुनसक्ने मूलबाटो खनाउँदै जङ्गबहादुर त्यहाँ पुगेका थिए ।
उनी काठमाण्डौँ फर्किएको केही समयपछि यता भवानीसिं स्वाँर, कालुसिं स्वाँर र रुद्र स्वाँर भन्ने व्यक्तिहरूले बलदेव शाह (बाकावीर)को छलकपटपूर्ण तरिकाले हत्या गरी टाउको काठमाण्डौँ पुर्याए । यसरी आफ्नैहरूबाट बाकावीरको षडयन्त्रपूर्वक हत्या गरिएको थियो ।