Paschim Express
प्रयागराजकाे कुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु

काठमाडाैं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाका क्रममा भागदौड हुँदा धेरै मानिस हताहत भएका छन् ।

भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको समाचार संस्था एएफपीले जनाएकाे छ । यद्यपि प्रशासनले अहिलेसम्म मृतकको संख्याको पुष्टि गरेको छैन ।

भारत सञ्चारमाध्यमका अनुसार बुधबार बिहान मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार भीडले त्यहाँ लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलाठेल गर्दा उक्त अवस्था निम्तिएको हो ।

प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारसँग कुरा गर्दै केही ठाउँमा भीडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोध तोडफोड भएको खबर आएकाले भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन् । उनका अनुसार घाइतेको उपचार भइरहेको छ ।

आज महाकुम्भमा मौनी अमावस्या स्नान छ, जसका कारण शहरमा करिब ५ करोड भक्तजनहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ । प्रशासनका अनुसार आज राति अबेरसम्म संगमसहित ४४ वटा घाटमा ८ देखि १० करोड भक्तजनले पवित्र स्नान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update