Paschim Express
अछाममा २ किशोरी मृत फेला प्रकरण : सिआइबीले अनुसन्धान गर्दै, दाहसंकार भयो

अछाम । अछाममा मृत फेला परेका दुई किशोरी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ । अनुसन्धानका लागि सिआइबीबाट इन्स्पेक्टरको नेतृत्वमा टोली खटिएको छ ।  सिआइबीका इन्स्पेक्टर सूर्यबहादुर शाही र सइ श्रीभक्त श्रेष्ठसहितको घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको हो । 

जिल्लाको ढकारी– ८ घोडासैनका सरस्वती खड्का र इशरा खड्का गत शनिबार मृत भेटिएका थिए । शरीरमा चोटपटकसमेत रहेकाले उनीहरूको हत्या भएको आशंका गरिएको छ । 

घटना गम्भीर प्रकृतिको भएपछि सिआइबीबाटै टोली खटाइएको हो । टोली घटनास्थल अछामको ढकारी गाउँपालिका– १ छिन्ने वडारस्थित जंगल र मृतकको गाउँ ढकारी– ८ घोडासैनको पल्साता क्षेत्रमा परिचालित रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । सिआइबीको टोलीले पहिलो चरणमा घटनास्थलको अध्ययनसँगै मृतकका आफन्तसँग सोधपुछ गरिरहेको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दको टोली अछाम पुगिसकेकाे छ ।

१५ वर्षीया सरस्वती र १४ वर्षीया इशरा फुपू–भदै हुन् । शनिबार बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खाेजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीकाअनुसार घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएकाे छ । उनीहरूमाथि अनुसन्धान जारी छ ।

मृत भेटिएका दुवैको बुधबार दाहसंकार गरिएको छ । शवको  पोस्टमार्टम सकिएपछि दाहसंस्कार गरिएको हो । मृतक किशोरीहरूको शव भेरी प्रादेशिकअस्पताल नेपालगन्जमा पोस्टमार्टम गरिएको थियाे । तर रिपोर्ट आउन बाँकी छ । रिपोर्टबाट मृत्युको कारण खुल्ने र अनुसन्धान सहज हुने प्रहरी अधिकारी बताउँछन् ।  

स्थानीय विद्या प्रबोधनी माविमा कक्षा आठमा अध्ययरत उनीहरूको हत्या गरिएको भन्दै आफन्तले दुईजना बालकविरुद्ध किटानी जाहेरी दिएका छन् । किटानी परेकाहरू १५ र १७ वर्ष उमेरका बालक छन् ।

मृतक सरस्वतीका ठुलोबुबा तथा ईशराका हजुरबुबा नाता पर्ने अवि खड्काले दिएको किटानीमा उनीहरूकै योजना र संलग्नतामा घटना घटाइएको उल्लेख छ ।मृतक र उनीहरूबिच फोन, फेसबुक र भेटमा कुराकानी हुने गरेकोसमेत किटानीमा लेखिएको छ ।

यस घटनाका सम्बन्धमा प्रहरीले अन्य केही व्यक्तिसँग पनि सोधपुछ गरेर छाडेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update