Paschim Express
अछाममा मृत भेटिएका २ किशोरीको हत्या भएको निष्कर्ष

अछाम ।  अछामको ढकारी गाउँपालिकाका–८ का १४ वर्षीया इशरा खड्‌का र उनकी फूपू १५ वर्षीया सरस्वती खड्काको हत्या भएको निष्कर्षमा प्रहरीले निकालेको छ ।  नियन्त्रणमा रहेका दुई जना किशाेरले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेकाे प्रहरी स्राेतले बताएकाे छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले भने घटनाबारे शनिबार पत्रकार सम्मेलन नै गरेर सार्बजनिक गर्ने तयारी रहेको बताए । उनका अनुसार अहिले सीआइबीको टोलीली अनुसन्धान जारी राखेको छ ।   शनिबारसम्म घटनाको सम्पूर्ण विवरण सार्बजनिक गर्ने तयारीमा रहेकाे र  नियन्त्रणमा रहेका  दुई जनाविरुद्ध कर्तव्य ज्यानमा म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए  । 

अनुसन्धान खटिएका एक अधिकारीका अनुसार शनिबार इशरा र सरस्वतीसँगै अर्को गाउँका आरोपित दुई जना पनि गोठालो गएका थिए । 'एक किशोर सरस्वती र अर्को इशरासंग बस्दै कुराकानी गरेका रहेछन्, सोही समयमा सुरुमा सरस्वती र एक किशोरबीच विवाद भएको रहेछ' ती अधिकारीले भने, 'सरस्वतीलाई ढुङ्गाले प्रहार गर्दै कर्तव्य ज्यान गरि भीरबाट फालेको अनुसन्धानका क्रममा देखिएको छ । सरस्वतीलाई मृत देखेपछि इशराले परिवारमा भनिदिने बताएकी रहेछन् । सोही क्रममा उनलाई पनि छातीमा ढुङ्गाले प्रहार गरेर भीरबाट फालिएको खुलेको छ ।'

उनका अधिकारीका अनुसार हत्या गर्न प्रयोग भएका केही ढुङ्गा भीरमा त केही तल मैदानमा भेटिका छन् । इशराको एक किशोरसँग पहिलेदेखि नै कुरा हुने गरेको खुलेको छ ती अधिकारीले बताए । 'आरोपित दुई जना त्यो जंगलमा गएको र फर्केको देख्ने पनि भेटिएका छन्' उनले भने । 

घटनाको अनुसन्धानका लागि अछाम प्रहरीको टोलीसँगै प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उपेन्द्र बम, संघीय प्रहरी महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक सुशील चन्द र पदम थापा र सीआइबीको टोली खटिएको थियो ।  सुदूरपश्चिमका डिआइजी गणेश चन्द पनि आफैं अछाम पुगेका थिए । सीआबीबाहेकको टोली अछामबाट फर्किसकेको छ ।

बाख्रा चराउन गएका दुई किशोरी शनिबार बेलुका ढकारी गाउँपालिका-१ स्थित छिन्ने ओडारको भीरमा मृत फेला परेका थिए ।

 
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update