Paschim Express
डडेल्धुरामा ३ सय प्रहरी फिल्डमा, यस्तो छ चाडपर्व लक्षित सुरक्षा योजना

डडेल्धुरा । चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याएको छ । जिल्ला सुरक्षा समितिबाट स्विकृत गर्दै डडेल्धुरा जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याइएको हो । 

प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेका अनुसार राजमार्ग लगायतका अन्य सडकमा सञ्चालन हुने सवारीसाधनको व्यवस्थापन, बजारमा आपूर्ति व्यवस्थापनसंगै मूल्य र गुणस्तर कायमका लागि निगरानी, लागूपदार्थ, मादकपदार्थ र जुवातास नियन्त्रण तथा र अपराधजन्य गतिविधि नियन्त्रणका लागि सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइएको छ । दसैँ, तिहार लगायतका चाडपर्वलाई ढुक्कसंग मनाउने वातावरण बनाउनका लागि अन्य समयको भन्दा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले चाडपर्वको समयमा कुनै पनि आपराधिक गतिविधि हुन नदिका लागि तीन सय बढी प्रहरी परिचालन गरिएको छ ।

‘शान्ति सुरक्षाका लागि प्रभावकारी रूपमा कार्यतालिका बनाइएको छ,’ उनले भने, ‘सादा पोसाकमा पनि प्रहरी खटाएर निगरानी बढाइएको छ भने गस्ती पनि भइरहेको छ ।’ सरप्राइज चेकिङ पनि भइरहेको डिएसपी कार्कीले बताए । 

चाडपर्वमा सुरक्षा तथा यात्रु आवागमनलाई व्यवस्थापन गर्न विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको डिएसपी कार्कीले बताए । ‘जिल्ला सदरमुकामको बागबजारसंगै स्याउले, सकाइल र जोगबुढामा सहायता कक्ष स्थापना गरेका छौं,’ उनले भने । 

चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भीडभाडको मौका छोपेर लुटपाट, चोरी, डकैती हुने भएकाल् निगरानी बढाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update