
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्यूत कलौनी मृत फेला परेका छन् । शनिबार बिहान सडक पेटीमा कलौनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर घोप्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।
घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुुर पठाइएको छ ।
कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्रीसमेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए । कलौनी मृत फेला परेको स्थानबाट ५ सय मिटरको दुरीमा उनको घर छ ।