कैलाली । क्रिकेटको शहर धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । गो ड्रिर्मसको आयोजनामा धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गरे । नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुरबहादुर बिष्ट विशिष्ठ अतिथि रहेको उद्घाटन समारोहमा चर्चित गायक चक्र बमले सांगितिक प्रस्तुती दिएका थिए ।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगितामा डडेल्धुराको फेण्ड्स क्लबले विजयी सुरुवात गरेको छ । नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउण्ड प्रदर्शमा डिसिए धनगढीमा सानदार जित दर्ता गर्दै फेण्ड्स क्लब डडेल्धुराले जितबाट प्रतियोगिताको सुरुवात गरेको हो ।
डिसिए धनगढीलाई ८ विकेटले हराउँदै फेण्ड्स क्लब डडेल्धुराले विजयी सुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । सुरुवाती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुराउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए । निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे । सातौ नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए । डडेल्धुराका लागि राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि विष्टले २÷२ तथा हेमन्त धामीले १ विकेट लिए ।
धनगढीस्थित फाप्ला मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । डडेल्धुराका लागि कुशल भुर्तेलले अर्धशतक बनाउँदै आफ्नो टीमलाई जित दिलाए । ५१ बलको सामना गरेका उनले ८७ रनको अविजित पारी खेले । यस्तै विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १÷१ विकेट लिए । खेलका नवजीव सहकारी संस्था लिमिटेड म्यान अफ द म्याच डडेल्धुराका भुर्तेल भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा सीवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड प्रतिस्पर्धा गर्नेछन् ।
अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समुह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।