
डडेल्धुरा । कञ्चनपुरको भीमदत्त नगरपालिकामा शनिबार बिहान मृत फेला परेका नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको रहस्यमय मृत्युबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।
आइतबार महाकाली आर्यघाटमा कलौनीको अन्त्येष्टि गरिएको छ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीर कांग्रेस जिल्ला पार्टी कार्यालयमा राखेर गृहमन्त्री रमेश लेखकसहितका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
मृत्युको कारण अझै अज्ञात
महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षण गरिएको भए पनि अहिलेसम्म मृत्युको स्पष्ट कारण खुल्न सकेको छैन । भेरी प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूले परीक्षण गरेका छन्, तर रिपोर्ट आउन बाँकी छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार कलौनीको शरीरमा कुनै बाहिरी चोटपटक देखिएको छैन, जसले घटनालाई थप रहस्यमय बनाएको छ ।
सीसीटीभी फुटेज र अन्तिम गतिविधि
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, कलौनी शुक्रबार राति साढे ९ बजे शव भेटिएको स्थान नजिकै एक्लै हिँडिरहेको सीसीटीभी फुटेजमा देखिएका छन्। तर, जहाँ उनको शव फेला पर्यो, त्यहाँ कुनै सीसीटीभी क्यामेरा नभएकाले घटनाको वास्तविकता पुष्टि गर्न कठिन भइरहेको छ ।
अन्तिम समयका गतिविधि
पारिवारिक स्रोतका अनुसार, कलौनी शुक्रबार धनगढी गएका थिए र अबेर साँझ मात्रै महेन्द्रनगर फर्किएका थिए । प्रहरीका अनुसार, उनी तीन जना साथीसँग धनगढी गएका थिए, तर साँझ मदन चोकमा उनीहरू छुट्टिएका थिए । त्यसपछि कलौनी हिँडेर घर जाने भन्दै अघि बढेका थिए ।
स्वास्थ्य समस्या वा षड्यन्त्र ?
प्रहरीका अनुसार, मदन चोकमा छुट्टिएपछि कलौनीले पेट र छाती दुख्ने गुनासो गरेका थिए । उनी महाकाली प्रादेशिक अस्पताल पुगेर औषधि लिएर निस्किएका थिए । उनको खल्तीमा ग्यास्ट्रिकको ट्याबलेट समेत भेटिएको छ । तर, परिवारले भने यो घटनालाई रहस्यमय मानेर हत्या हुन सक्ने आशंका गरिरहेका छन् ।
अझै फेला परेन मोबाइल
कलौनीको दुई मोबाइलमध्ये एटटा मोबाइल फोन हालसम्म फेला परेको छैन, जसले घटनालाई थप शंकास्पद बनाएको छ । प्रहरीले मोबाइलको खोजी गरिरहेको छ र यसबाट थप सुराग मिल्न सक्ने बताएको छ ।
विविध कोणबाट अनुसन्धान जारी
प्रहरीले कलौनीसँग धनगढी गएका तीन जनासँग बयान लिएको छ र अन्य पक्षबाट पनि अनुसन्धान जारी राखेको छ । कलौनीको भिसेरा परीक्षणका लागि नमूना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने तयारी भइरहेको छ ।
कलौनीको मृत्यु दुर्घटना, स्वास्थ्य समस्या, वा योजनाबद्ध षड्यन्त्रको परिणाम हो भन्ने यकिन गर्न प्रहरीले गहिराइमा अनुसन्धान गरिरहेको छ ।