Paschim Express
आलितालमा मनाइयो विश्व सिमसार दिवस

डडेल्धुरा । ‘हाम्रो साझा भविष्यको लागि सिमासरा क्षेत्रको संरक्षण’ भन्ने मूल नाराका साथ महाभारत र चुरे पर्वतको सीमानामा पर्ने आलितालमा पहिलोपटक विश्व सिमसार दिवस मनाइएको छ । भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिका ३ मा अवस्थित आलितालमा सिमसारको महत्व, संरक्षणका लागि बहस र सरसफाई गर्दै आइतबार दिवस मनाइएको हो ।

यसै विषयमा आलिताल गाउँपालिका र छिमेकी डोटी जिल्लाको जोरायल गाउँपालिकाका जनप्रतिनिधि, आलिताल सव डिभिजन वन कार्यालयका वन अधिकृत, यस क्षेत्रका विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयहरुको उपस्थितिमा जानकारी, बहस र आलिताल क्षेत्रमा सरसफाई गरिएको आयोजक ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार अक्सफाम नेपालसँगको सहकार्यमा रंगुन जलाधार क्षेत्रमा सञ्चालित जलाधार संरक्षण परियोजना अन्तरगत आलिताल गाउँपालिकाको सहयोग एवम् सहकार्यमा विश्व सिमसार दिवस मनाइएको हो । सिमसार क्षेत्रको संरक्षणका सवालमा बहस गरिएको उनको भनाई छ ।

आलितालको संरक्षण, भूक्षयीकरण रोक्नका लागि बाँध लगाउने, सिचाईँका लागि व्यवस्थित रुपमा कुलो निर्माण, अवलोकनका लागि चारैतर्फ फुटपाथ निर्माण, टहरा निर्माण, घेरबार गरिएको आलिताल गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बलबहादुर बुढाले जानकारी दिए । तालको पूर्वतर्फको किनारमा भ्यू टावर पनि निर्माण गरिएको उनले बताए । आलिताल धार्मिक आस्थाका रुपमासमेत रहेकाले यस वर्ष २५ लाख रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको उनले बताए ।

यसअघि आलितालमा पहिलोपटक नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चरा विज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरिएको थियो । ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताएका थिए । उनका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँसलगायत चराहरु देखिएका छन् । ताल आसपासमा चराहरुको अध्ययन बाँकी रहेको उनको भनाई छ ।

आलितालमा अहिले रैथाने र आगन्तुक जलपन्छीबारे अध्ययन सुरु गरिएको छ । ताल क्षेत्रमा एक वर्षसम्म अध्ययन र अवलोकनपश्चात ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरु रहेको भन्नेबारे जानकारी हुने उहाँले उल्लेख गर्नुभयो । हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उनको भनाइ छ ।

आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा छ । यस तालको लम्बाइ एक हजार एक सय ७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ । यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एकजना हेरालुको व्यवस्था गरेको छ । चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन् ।

नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर ९करिब पाँच प्रतिशत० सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तराष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update