Paschim Express
अजयमेरु कोट पुग्यो पुरातत्त्व विभागको विज्ञ टोली

धनगढी । डडेल्धुरामा पुरातत्त्व विभागको विज्ञ टोली पुगेको छ । जिल्लाको अजयमेरु गाउँपालिका–२ मा रहेको अजयमेरुकोटको अन्वेषण र उत्खनन्का लागि विभागको टोली पुगेको हो ।

प्रमुख पुरातत्त्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा दुई सदस्यीय टोली कोटमा पुगेको वडाध्यक्ष शिवराज भट्टले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको आर्थिक सहयोगमा उक्त टोलीले अध्ययन सुरु गरिसकेको छ । 

प्रमुख पुरातत्त्व अधिकृत ज्ञवालीका अनुसार टोलीमा पुरातत्वविद् सुनिता भडेल सदस्य छिन् भन् रोशनी महर्जन केही दिनमा पुग्ने छिन् । ‘हामी तीन साताको कार्यक्रम ल्याएर अजयमेरुकोट पुगेका हौं,’ उनले भने, ‘यो अवधिभर अन्वेषण तथा उत्खनन्को काम हुने छ । गाउँपालिकाका केही कर्मचारीले पनि सहयोग गरिरहनुभएको छ । अन्य कामदार पनि छन् ।’

डडेल्धुरा जिल्लाको सदरमुकामबाट पश्चिमतर्फ ७ किलोमिटरको दुरीमा बस्ती र खोलाको बीचमा प्राचीनस्थलको रूपमा अजयमेरुकोट देखिन्छ । बाइसे राज्यकालीन डोटी राज्यको राजधानी कोट प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार, देबल, पानीका न्वाला, घोडा तबेला, बैठक कक्ष,  पोखरी आदि वास्तुकलाको आकर्षण केन्द्र हो । 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update