धनगढी । डडेल्धुरा मेडिकल कलेजमा बीएस्सी नर्सिङ र पब्लिक हेल्थको पढाइ सुरु हुने भएको छ । अघिल्लो वर्षदेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापन सुरु भएकोमा यसवर्षदेखि थप दुई संकायमा पढाइ सुरु हुन लागेको हो ।
विद्यार्थीलाई स्वागतसहित पढाई सुरुबारे दिइएको जानकारी कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डीन हेमनाथ जोशीले मंगलबारदेखि बीएस्सी नर्सिङ र पब्लिक हेल्थमा अध्यापन सुरु हुने जानकारी दिए । ‘पब्लिक हेल्थमा १० र बीएस्सी नर्सिङमा २० जनाको कोटा पाएमा अहिले पब्लिक हेल्थमा पाँच र बीएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन्,’ उनले भने ।
कार्यक्रममा डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक पहलमा मेडिकल कलेजले सफलता पाउँदै गएको बताउँदै विद्यार्थीलाई गर्नुपर्ने सहयोगका लागि अस्पताल सधैं तयार रहेको बताए ।
सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेको झण्डै दुई वर्षपछि पहिलोपटक २०८० असोजमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको थियो । पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएकोमा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन गत वर्षदेखि सुरु भएको थियो ।
एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पतालको स्तरोन्नति आवश्यक रहेको डीन जोशीलेको भनाइ छ । अहिले डडेल्धुरा अस्पताल एक सय शय्याको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ । डडेल्धुरा अस्पताल स्तरोन्नति भएर तीन सय शय्यामा सञ्चालन भएको तीन वर्षपछि मात्रै एमबीबीएसको अध्यापन अनुमति पाउने व्यवस्था छ ।