Paschim Express
अर्जुन ट्रफी क्रिकेटः डडेल्धुराको दोस्रो जित

डडेल्धुरा  । धनगढीमा जारी अर्जुन ट्रफी  राष्ट्रिय  क्रिकेट प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लब डडेल्धुरा विजयी भएको छ । 

पहिलो खेलमा डिसिए धनगढीलाई ८ विकेटले पराजित गरेको डडेल्धुराले लगातार दोस्रो जित निकाल्ने क्रममा आज बोस्टर्न क्रिकेट एकेडेमी झापालाई  ७७ रनले हरायो ।  

जितका लागि पाएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा झापाले १५ ओभरमा ९ विकेटको क्षतिमा ६६ रनमा सीमित भयो। उसका लागि सोनम बुढाथोकीले १७ र दीपु भुजेलले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङतर्फ डडेल्धुराका कुशल भुर्तेलले ४, अजय चौहानले २, कप्तान सन्दीप जोरा, अजय चौहान र रवि विष्टले १-१ विकेट झारे ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा निर्धारित ओभरमा तीन विकेट गुमाएर १४३ रन जोड्यो ।

डडेल्धुराका लागि आयुषमान बम र  कप्तान सन्दीप जोराले अर्धशतक प्रहार गरे । २३ रन जोड्दा २ विकेट गुमाएर धर्मराएको पारीलाई आयुषमान र सन्दीपले सम्हाले । यी दुवैबीच ८३ रनको महत्त्वपूर्ण साझेदारी भयो ।

तीस बलको सामाना गरेका जोरा ५१ रनमा आउट हुँदा चार छक्का र चार चौका प्रहार गरे। ओपनर आयुषमान ५७ रनमा नटआउट रहे। उनले ३६ बलमा ७ चौका र एक छक्का प्रहरा गरे ।

अविजित रहेका किरण ठगुन्नाले १० बलमा २ छक्का र एक चोकोको मद्दतमा २१ रन जोड । ओपनर कुशल भुर्तेल २ रनमा आउट भए। विनोद भण्डारी ५ रनमा पवेलियन फर्के ।

बलिङमा झापाका अरुण ऐरीले दुई तथा पवन कार्कीले एक विकेट लिए  डडेल्धुराका आयुषमान बम प्लेयर अफ द म्याच चुनिए।

जितसँगै डडेल्धुरा दुई खेलबाट चार अङ्कतालिकाको शीर्ष स्थानमा कायमै छ  । साथै डडेल्धुरा सेमिफाइनल नजिक पनि पुगेको छ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद  १० लाख र उपविजेताले नगद रु पाँच लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही  ५०–५० हजार पाउने छन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद  १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

धनगढीमा क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण योगदान गरेका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update