डडेल्धुरा । आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा देशभरबाट ३ हजार ६ सय ९८ बालबालिका हराएका छन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार यो अवधिमा हराएका बालबालिकामध्ये ३ हजार १ सय ६ जना फेला परेका छन् । सात प्रदेश र काठमाडौं उपत्यका गरी ५९० बालबालिका अझै नभेटिएको प्रहरीले जनाएको छ। हराएका मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा धेरै मधेशमा बालबालिका हराउने गरेका छन् । मधेशमा ६४५ बालिका र १२१ बालक हराएका छन् । ती मध्ये अझै २ सय ३९ बालबालिका अझै भेटिएका छैनन् ।
यस्तै ६ महिनाको अवधिमा सुदूरपश्चिमबाट १०९ बालबालिका हराएका थिए । जसमध्ये १०३ जना फेला परेका छन् भने ६ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीको तथ्यांक छ ।
घरपररिवारबाट सामान्य विवादमा अलग भएर सहर छिर्ने, विभिन्न किसिमका घरायसी कामसहित होटल व्यवसायका काममा लाग्ने तथा घर ठेगाना थाहा नभएका बालबालिका सुधार गृहमा राखिने गरेका कारण समेत कतिपय बालबालिका परिवारसँग सम्पर्कमा नरहने गरेको पाइएको प्रहरीले बताएको छ ।
सामान्यतया फरक स्वास्थ्य अवस्था भएका बालबालिका धेरैजसो हराउने गरेका छन् । यस्तै, कतिपय अवस्थामा अभिभावकको लापर्बाहीका कारण समेत बालबालिका हराउने गरेका छन् ।
अर्कोतर्फ बालबालिका हराएर भेटिएपछि प्रहरीलाई जानकारी दिनुपर्छ भन्नेमा धेरै अभिभावक सचेत नरहनुले समेत तथ्यांकमा असर गर्ने गरेको छ ।