
काठमाडौं । नेपाली कांग्रेस अछामका एक स्थानीय नेता मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अछाम क्षेत्र नम्बर २ (क) का कांग्रेस सभापति ताराप्रसाद खनाल रहेका छन् । उनलाई आइतबार पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले जानकारी दिए ।
मानव बेचबिखनसम्बन्धी आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको एसएसपी जिसीले बताए ।
कांग्रेस नेतामाथिको गम्भीर आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा लाभ लिएको आरोपमा बझाङका एक प्रशिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अनुसन्धानका क्रममा बोहराले जयपृथ्वी नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिका लागि उच्च माध्यामिक शिक्षा परिषद्बाट जारी भएको +२ तहको लब्धाङ्क पत्र नक्कली पेश गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पाइएको छ ।
यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर ठहर गर्दै अख्तियारले उनलाई सोही कानुनअनुसार कैद र जरिवानाको सजाय हुन माग गर्दै आरोपपत्र दायर गरेको हो ।